गुणबहादुर रोका
सुलीकोट, माघ ४ गते । गोरखामा ट्राफिक प्रहरीले गत साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ५४ लाख १२ हजार १ सय रुपियाँ राजस्व सङ्कलन असुल उपर गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट कारबाही तथा जरीवाना गरी राजस्व रकम असुल उपर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख तारापति अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्ममा पाँच हजार ८ सय ३५ वटा विभिन्न सवारीसाधन कारबाहीमा परेका छन् । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल २ हजार ७ सय ६१, जिप, कार र भ्यान १ हजार २ सय ७२, ट्रक, टिपर ७ सय ४९, बस ६ सय ६३ वटा र ३ सय ७६ वटा टयाक्टर सवारीसाधन जरिवाना तथा कारबाहीबाट कुल ५४ लाख १२ हजार १ सय रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रमुख अर्यालले बताउनुभयो ।
गोरखामा अत्यधिक मात्रामा बिना लाइसेन्स सबारी साधन चलाउने, बिलबुक नबोक्ने र लापारबाही तरीकाबाट ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरी जरिवाना गरिएको ट्राफिक प्रमुख अर्यालको भनाइ छ ।
गोरखामा सबैभन्दा बढी कारबाही दुईपाङ्ग्रे मोटरसाइकललाई नियम उल्लङ्घन गरेबापत कारबाही गरेको पाइन्छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कसुर हेरी ५०० देखि ३००० सयसम्म जरिबाना गर्ने गरिएको छ ।
नियम उल्लङ्घन गरी सवारीसाधन चलाउने चालकलाई सचेतना गरी पठाइएकाले पनि अझै कम सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।