• ४ जेठ २०८१, शुक्रबार

देशका छमध्ये काठमाडौं महानगरको मात्रै नतिजा आउन बाँकी

blog

काठमाडाैं, जेठ ११ गते । वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे मत परिणामअनुसार छ वटा महानगरमध्ये पाँचवटाकाे नतिजा सार्वजनिक भएकाे छ । सङ्घीय राजधानीकाे काठमाडाैं महानगरकाे मत परिणामबाहके सबै पाँचवटै महानगरकाे नतिजा सार्वजनिक भएकाे छ । साे नतिजामा सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस दुई, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)काे एक/एक वटा महानगरमा विजयी भएकाे हाे ।

प्रदेश नं . १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला ३० हजार १७० मतसहित विजयी हुनुभयो । कोइरालाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४५५ म प्राप्त गर्नुभयो ।

निर्वाचन आयोगका अनुसार सो महानगरकाे उपप्रमुखमा एमालेका शिल्पा कार्की २५ हजार ६८० मतसहित विजय हुनुभयो भने जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २१९ मत ल्याउनुभयो ।

मधेश प्रदेश अन्तर्गत पर्साको वीरगञ्ज महानगर प्रमुखमा जसपाका राजेशमान सिंह ४६ हजार २१५ मतसहित विजयी हुनुभयो । सिंहका निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गर्नुभयो । सो महानगरको उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम ३० हजार ७८ मतसहित विजयी हुनुभयो । 

बागमती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ४२ हजार ७२२ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत ल्याउनुभयो । महानगर उपप्रमुखमा एमालेकी मन्जली शाक्यले २५ हजार ८४ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १८ हजार ५५२ मत प्राप्त गर्नुभयो ।

चितवनको भरतपुर महानगर प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल ५२ हजार २८ मतसहित विजयी हुनुभयो । दाहालका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ५८२ मत ल्याउनुभयो । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी हुनुभयो । अधिकारीका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमला गुरुङले ३० हजार ६११ मत प्राप्त गर्नुभयो ।

गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ५८ हजार ८९३ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत ल्याउनुभयो ।

काठमाडौं महानगरपालिको भने मतगणना अझै जारी छ । काठमाडौं  निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो मतपरिणाम अनुसार एक लाख ६६ हजार ३१३ मतगणना हुँदासम्म महानगरप्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५४ हजार २१३ मत ल्याउनुभएको छ । कांग्रेसका सिर्जना सिंहको ३४ हजार १८० र  एमालेका केशव स्थापितको ३३ हजार ९०४ मत छ । 

काठमाडौं महानगरको ३२ वडामध्ये २७ वटा वडाको मतपरिणाम घोषणा भइसकेको छ भने अहिले वडा नं. १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना कार्य जारी छ । काठमाडौं महानगरको बिहीबार दिउँसोसम्ममा मतगणना सम्पन्न हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।