अमरगढी समाचारदाता
डडेलधुरा, माघ ४ गते । यस वर्षको हिउँदमा पहिलो ठुलो वर्षा भएको छ । हिउँद सुरु भएपछि वर्षा नै नभएको डडेलधुरामा पर्याप्त वर्षा हुँदा चिसो ह्वात्तै बढेको छ । बिहीबार बिहानैदेखि भएको वर्षाले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ तर खेतीपाती गर्ने किसानलाई भने निकै ठुलो राहत भएको छ ।
जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेलधुराका कार्यालय प्रमुख श्याम सुनारका अनुसार बिहीबार बिहानदेखि दिउँसो २:४५ बजेको समयसम्म ८.७ मिलिमिटर वर्षा भएको छ । बिहीबार बिहान करिब ७:०० बजेदेखि भएको सामान्य वर्षा दिउँसोपछि मध्यम वर्षा भएको थियो । यो वर्षा यस वर्षको हिउँदेयाममा हालसम्मकै उच्च रेकर्ड रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बिहीबार डडेलधुराको अधिकतम तापक्रम सात डिग्री सेल्सियस र न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको छ । यस हिउँदको यो समयमा भएको पर्याप्त वर्षाले व्यावसायिक रूपमा फलफूल खेती गरिरहेका किसानलाई ठुलो राहत भएको अमरगढी नगरपालिका–५, चिरकिट्टे गाउँका किसान प्रजापति पनेरुले बताउनुभयो ।
महाभारत पर्वत क्षेत्रमा एक हजारभन्दा बढी किवीका बिरुवा रोपेर व्यावसायिक फलफूल खेती गर्र्दै आइरहनुभएका पनेरुले यसअघि मङ्सिर र पुस महिनामा हल्का वर्षा र हिमपात हुँदा पनि बोटबिरुवा र बालीनालीलाई राहत पुगेको बताउनुभयो । बिहीबार पर्याप्त वर्षा हुँदा फागुन, चैत महिनामा पर्ने खडेरीलाई समेत राहत पुग्ने उहाँको भनाइ छ ।
अजयमेरु गाउँपालिका–२, बडी गाउँमा आठ हजारभन्दा बढी अनारका बिरुवा रोपेर व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुनुभएका मदन पनेरुले वर्षा हुँदा खुसी लागेको बताउनुभयो । पर्याप्त सिँचाइको व्यवस्था नहुनु र यस वर्ष हालसम्म ठुलो वर्षा नहुँदा पानी मुहान सुक्दै गर्दा भएको वर्षाले बोटबिरुवासँगै परम्परागत गहुँ, मुसुरो, केराउ, मटर खेतीलाई निकै राहत भएको उहाँको भनाइ छ ।
डडेलधुरामा बर्खे र हिउँदे गरेर एक हजार ३७१ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ । प्रतिहेक्टर उत्पादकत्व १३.४ प्रतिशत रहेको छ । वर्षभरिमा १८ हजार ४६१ किलोग्राम तरकारी उत्पादन हुने गरेको तथ्याङ्क कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।
उहाँका अनुसार डडेलधुरामा सात हजार पाँच सय हेक्टर क्षेत्रफलमा गहुँ खेती र ४३५ हेक्टर क्षेत्रफलमा मुसुरो दालको खेती गरिन्छ । अहिले भएको वर्षा गहुँका लागि पर्याप्त भएको उहाँले बताउनुभयो तर टिप्न लागेका तरकारी खेती र खनिन लागेको आलुमा भने केही असर पुग्ने उहाँको भनाइ छ । यसै गरी डडेलधुरामा यस वर्षदेखि एक हजार दुई सय हेक्टर बढी जमिनमा आलु खेती गरिँदै आएको छ । गत वर्षको तथ्याङ्क अनुसार डडेलधुरामा करिब २५ हजार सात सय मेट्रिक टन आलु उत्पादन भएको थियो ।