दोलखा समाचारदाता
दोलखा, माघ ४ गते । दोलखाको गौरीशङ्करगाउँपालिका–९ को दुर्गम गाउँ रिकुमा कहालिलाग्दो भिर खोपेर बाटो बनाउन थालेपछि स्थानीय हर्षित भएका छन् । जोखिम मोलेर सदियौँदेखि विकट बाटोमा हिँडिरहेका रिकुवासीले पहरो खोपेर गाउँमा बाटो बनाउन थालेपछि स्थानीयमा खुसियाली छाएको निर्माण कार्यमा जुट्नुभएका स्थानीय मजदुर इन्द्रबहादुर थामीले बताउनुभयो ।
“कहालीलाग्दो भिर खोपेर बाटो बनाउँदै छौँ,” उहाँले भन्नुभयो, “गाउँमा आतेजाते गर्न सकिँदैन । त्रिपाल टाँगेर बसेका छौँ । चिसोले सताएको छ । आफ्नै लागि हो भनेर ज्यान छाडेर भिरमा काम गरिरहेका छौँ । चिप्लेर खसियो भने सिधै तामाकोशीमा पुगिन्छ ।” दुई मिटर चौडाइको दुई किलोमिटर लामो बाटो छिचोलिएको छ । अर्का मजदुर बुद्धिमान थामीले भन्नुभयो, “गाउँमा बाटो पु¥याउने आशले भिरमुनिको बास भएको छ । बाबुबाजेले पनि प्रयत्न त गरेका थिए होलान् । यसरी गाउँमा बाटो पुग्ला भन्ने एक मनमा पनि सोचिएको थिएन । दिन आएपछि जुरेर आउँदोरहेछ । अहिले बाबुबाजे भइदिएको भए कति खुसी हुन्थे होलान् ?”
बिगु गाउँपालिका–१ को लामाबगरदेखि गाउँसम्म बाटो जोडिन लागेको हो । बाटो खन्न सारै दुःख भइरहेको छ । प्वाल खोपेर डन्डी राखेर पुनः अर्को प्वाल खोपेर डन्डी राखेर माथि उक्लनु पर्छ । अर्का मजदुर गोपाल मगरले भन्नुभयो, “ठुलठुला गाडी त आउन सक्दैनन् होला तर मोटरसाइकलसम्म गुड्छ । ज्यानको बाजी थापेर अब झुन्डिएर हिँड्नु पर्दैन । सामान पनि सजिलै बोकेर ल्याउन सकिन्छ । देशमा लोकतन्त्र गणतन्त्र आएको केही महसुस गर्न पाउने भयौँ ।” जेनेरेटरलगायतका बाटो खन्ने साधन बोकेरै लैजानु पर्छ । चारैतिर वन र पहरोले घेरेको गाउँमा ४० घरपरिवारको बसोबास छ । वडाको विशेष पहलमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लगानीमा यो बाटो बन्न लागेको हो ।
वडाध्यक्ष निमगेली शेर्पाले भन्नुभयो, “गाउँसम्म आउने चार किलोमिटर बाटो बन्छ । छ करोड रुपियाँको लगानीमध्ये एक करोड ४७ लाख रुपियाँको ठेक्कामार्फत काम भइसकेको छ । कहालिलाग्दो भिरमा जोखिम मोलेर काम गर्नुपर्ने भएकाले सोचे जति काम हुन सकेको छैन । जे होस्, रिकुवासीले अब भिर खोपेर बनाएको बाटो प्रयोग गर्न पाउँछन् ।”