काठमाडौँ, माघ ४ गते । टुङ्ना (डाम्ङ्यान) वादक फुट्टी शेर्पा हिमालयन इथ्निक गायन प्रतियोगिता २०२४ मा उपविजेता बन्नुभएको छ । भारतको सिलगुरीमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा उहाँले दोस्रो स्थान हासिल गर्नुभएको हो ।
माइजोगमाई गाउँपालिका ६ निवासी प्याङ्ग स्थायी निवासी फुट्टी शेर्पाले भारतको सिलगुरीमा सम्पन्न हिमालयन इथ्निक गायन प्रतियोगिता २०२४ मा नेपाली हिमाली समुदायको तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो । भारतको वर्णमाला परिवारले आयोजना गरेको अन्तर्राष्ट्रिय गायन प्रतियोगितामा उहाँले शेर्पा भाषाको मौलिक गीत प्रस्तुत गर्नुभएको थियो ।
पछिल्लो दशक देखि शेर्पा टुङ्ना (डाम्ङ्यान) बादकको रूपमा परिचित हुनुहुन्छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएर उपाधि हासिल गर्नु सांस्कृतिक रूपमा मात्र नभएर पहिचान र रीतिरिवाजलाई संरक्षण गर्न टेवा पुगेको नेपाल शेर्पा सङ्घका पूर्व अध्यक्ष एवं पुर्वमन्त्री कृपासुर शेर्पाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, कला र संस्कृतिको संरक्षण र सम्मान गर्न हाम्रो समुदायले कन्जुस्याइँ गर्नुहुन्न ।
प्रतियोगितामा ‘टप थ्री लाइभ प्रस्तुति’ मा द थ्री सिज ब्यान्डको साथमा गायिका शेर्पाले टुङ्ना बजाउँदै शेर्पा भाषाको गीत प्रस्तुत गर्नुभएको थियो । भौगोलिक, जातीय सङ्गीत, संस्कृति र सम्पदाको तीन दिने साङ्गीतिक प्रतिस्पर्धामा दश बढी देशका कलाकारहरूले प्रस्तुति रहेको थियो ।
प्रतियोगितामा पश्चिम बङ्गालको टोटोपाराका सोनी टोटोले प्रथम स्थान हासिल गरेका थिए । उपविजेता बन्नुभएकी फुट्टीको कलालाई सम्मान गर्नुहुँदै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले नगद एक लाख ६० हजार रुपियाँ पुरस्कार प्रदान गर्नुभयो ।
हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका सचिव समेत रहनुभएकी गायिका शेर्पा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्ने विद्यार्थी समेत हुन् ।