• ४ माघ २०८१, शुक्रबार

‘ल्हो–छाम्पा’ को घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ४ गते । सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथामा ‘ल्हो–छाम्पा’ शीर्षकको चलचित्र बन्ने भएको छ । चलचित्रले भुटानबाट नेपाली भाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई प्रस्तुत गर्ने छ । ‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो । चलचित्रलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्दै हुनुहुन्छ । निर्माता सुवेदीले आफूले भोगेको समयलाई दस्ताबेजीकरण गर्ने उद्देश्यले चलचित्र निर्माणमा अग्रसर भएको बताउनुभयो ।

“भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले जे भोग्यो, त्यो कुरा पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले चलचित्र निर्माण गरेका हौँ तर यो कथालाई हामी रमाइलो गरी वाचन गर्ने छौँ,” सुवेदीको भनाइ छ । नरेशकुमार केसीको निर्देशन रहने चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुन पोखरेलको सङ्गीत रहने छ ।