• १२ असार २०८१, बुधबार

भरतपुर महानगरको पहिलो निर्णय छोरी बीमा र निःशुल्क खानेपानी

blog

भरतपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका पहिलो निर्णयमा हस्ताक्षर गर्नुहुँदै रेनु दाहाल, तस्विर – शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, जेठ ११ गते । भरतपुर महानगरपालिकामा दोस्रो पटक प्रमुखको पदभार ग्रहण गर्नुभएका रेनु दाहालले पहिलो निर्णयमा महानगरमा जन्मने छोरीको निःशुल्क जीवन बीमा र खानेपानी निशुल्क गर्ने निर्णय गर्नुभएको छ । बुधबार विहान दोस्रो कार्यकालको जिम्मेवारी लिँदै उहाँले दुई वटा निर्णयमा हस्ताक्षर गरी स्वीकृत गर्नुभएको हो ।

ती दुई निर्णयमध्ये महानगरभित्रका बासिन्दाले छोरी जन्माएको खण्डमा ती बालिकाको एक लाख रुपिंयाँको जीवन बीमामा लाग्ने प्रिमियम महानगरले भुक्तानी गरिदिने भएको छ । १५ वर्षे उक्त बीमा योजना महानगरको स्थायी बासिन्दाबाट जन्मिएको बच्चामा मात्र लागू हुने जनाइएको छ । जुनसुकै स्थानमा जन्मेको भए पनि आवश्यक प्रक्रिया पूरा गरेपछि ती बालिकाको बीमा गरिने नवनिर्वाचित महानगर प्रमुख दाहालले बताउनुभयो ।

त्यसैगरी, महानगर प्रमुख दाहालले गरेको अर्को निर्णयले भरतपुर महानगरभित्र वितरित खानेपानी मासिक सात हजार लिटरसम्म खपत गर्ने ग्राहकले पानीको महशुल तिरिरहनु पर्दैन । उक्त महशुल महानगर आफैँले तिरिदिने भएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले मासिक १० हजार लिटरसम्म न्यूनतम पानी खपत गर्ने ग्राहकलाई एक सय १० रुपिंयाँ शुल्क लिँदै आएको छ । 

पहिलो कार्यकालमा महिला र ज्येष्ठ नागरिकहरुको लागि भरतपुर अस्पतालको ओपिडी टिकट निःशुल्क गर्ने निर्णय गर्नुभएको थियो । दाहालले पहिलो कार्यकालमा गर्नुभएको निर्णय यस पटक चितवनका अन्य पालिकाले पनि गर्न थालेका छन् ।