• ३ माघ २०८१, बिहिबार

टेलिकमको टावर निर्माण गर्न सञ्चारमन्त्रीलाई ध्यानाकर्षण

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा नेता विद्रोही गिरी ।

मीना कंडेल

कावासोती, माघ ३ गते । नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । 

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटि सदस्य एवम् युवा नेता विद्रोही गिरी नेतृत्वको टोलीले सञ्चारमन्त्री गुरुङलाई भेटी बुलिङटार गाउँपालिकाको वडा नं. ४ को बोझापोखरी र बुलिङटार गाउँपालिका वडा नंं १ को लामटार डाँडामा नयाँ टावर निर्माण र बुलिङटार गाउँपालिका वडा नंं ३ मा रहेको नेपाल टेलिकमको टावरको क्षमता वृद्धिका लागि मन्त्रीलाई ध्यानाकर्षण गराएको युवा नेता गिरीले जानकारी दिनुभयो । 

कालीगण्डकी कोरिडोर (गैंडाकोट-बुलिङटार-रामपुर) खण्डमा यात्रा गर्ने यात्रुदेखि स्थानीय बासिन्दाले मोवाइलमा कुरा गर्न नेटवर्कमा समस्या देखिएकाले दुई ठाउँमा नयाँ टावर तथा बुलिङटार–३ मा रहेको टावरको क्षमता बढाउन आवश्यक देखिएको हो । 

सञ्चारको युगमा समेत मोवाइलको टावर टिपाउन अग्लो डाँडा खोज्दै हिड्नुपर्ने बाध्यता भएकाले मन्त्रीलाई भेटेर ध्यानकर्षण गराउने काम भएको हो । जतिसक्दो चाँडो नयाँ टावर र क्षमता वृद्धि गरी सञ्चालनमा ल्याउन नेपाल टेलिकमलाई निर्देशन दिने मन्त्री गुरुङले जानकारी दिनुभयो ।