सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, माघ ३ गते । सिन्धुपाल्चोकको विकट गाउँ बाह्रबिसे नगरपालिका–२ स्थित मङ्गलादेवी जनजागृति आधारभूत विद्यालयका विद्यार्थीले विद्यालयमै तरकारी खेती गरेका छन् । उनीहरूले विद्यालयको करेसाबारीमा सिजन अनुसारको तरकारी खेती गरेर दिवा खाजामा उपभोग गर्ने गरेका छन् । बाँकी रहेको तरकारी बाह्रबिसे बजार वा नजिकैको पसलमा बिक्री गरेर आम्दानीसमेत हात पार्न थालेका छन् ।
विद्यार्थीले गोलभेँडा, मुला, गाँजर, सागलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । मौसम अनुसारको तरकारी उत्पादन गर्न टनेलसमेत हाल्न थालिएको छ । विद्यालयले १० वर्षका लागि दुई रोपनी जग्गा भाडामा लिएको हो । उक्त जग्गामा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई मौसम अनुरूपको तरकारी खेती गर्न सिकाइँदै आएको विद्यालयका प्रधानाध्यापक बमबहादुर तामाङले जानकारी दिनुभयो ।
“विद्यार्थीले पढाइमा सिकेका कुरा व्यावहारिक रूपमा प्रयोग गर्नका लागि तरकारी खेती गर्न सिकाउन थालेको हो । किताबमा पढेका कुरा व्यवहारमा उतार्न, विद्यार्थीले पढ्दै र कमाउँदै गर्न सक्ने बनाउन करेसाबारीबाट तरकारी खेती सुरु गरिएको हो,” तामाङले थप्नुभयो । तरकारी खेतीमा शिक्षकले पनि साथ दिने गरेका छन् । नेसनल केयर फाउन्डेसन नेपालको सहयोगमा फ्रन्जेस क्राइज जर्मनीले जग्गाको भाडा तिरिदिने गरेको छ । तरकारी खेतीतर्फ सुरुमा विद्यार्थी आकर्षित नभए पनि बिस्तारै सबै छात्रछात्रा विद्यालयको करेसाबारीमा तरकारी उत्पादनमा उत्साहित भएर लागेका छन् ।