काठमाडौँ, माघ २ गते । विभागीय टोली एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणमा बागमती प्रदेशमाथि सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको एकपक्षीय खेलमा एपिएफ क्लबले बागमतीलाई ६–० गोलले हरायो ।
एपिएफको जितमा रश्मीकुमारी घिसिङ र सरु लिम्बुले दुई दुई गोल गर्नुभयो । प्रीति राईले एक गोल थप्नुभयो । एपिएफले अर्को गोल बागमतीबाट आत्मघाती उपहार पाएको थियो ।
माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । जसमा नेपाल पुलिस क्लब, वालिङ नगरपालिका त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र बागमती प्रदेश छन् ।