गाईघाट समाचारदाता
गाईघाट, माघ २ गते । माघेसङ्क्रान्ति पर्वका अवसरमा उदयपुरका कतिपय नदी किनारका विभिन्न स्थानमा मङ्गलबार बिहानैदेखि धार्मिक मेला लागेको छ ।
त्रियुगा नगरपालिका–३ स्थित बरुवा, लोहाले र त्रियुगा नदीको सङ्गमस्थलमा दुई दिनसम्म सञ्चालन हुने गरी मेला लागेको हो । मेला भर्न र नदीमा मक्कर स्नानका लागि सोमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको मेला आयोजक समितिले जनाएको छ ।
यसै गरी कटारी नगरपालिकास्थित तावा, ककरु र कमला नदीको सङ्गमस्थल खोक्साहामा २० दिनसम्म सञ्चालन हुन गरी उदयपुरको चर्चित त्रिवेणी मेला पनि मङ्गलबारदेखि नै सुरु भएको छ । माघ १ गतेका दिन बिहानै कमला नदीमा गएर मक्कर नुहाउने र तिलका लड्डु खाँदै तिलकै घँसेटा बालेर आगो ताप्ने चलन परापूर्वकालदेखि चल्दै आएको यहाँका बुढापाका बताउँछन् ।
महोत्सवको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त बस्नेतले त्रियुगा सभ्यता र विकाससँगै थारू संस्कृति र सभ्यतालाई पनि जोगाइराख्नुपर्ने बताउनुभयो । उहाँले यसै ठाउँमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले थारू सङ्ग्रहालयको निर्माण गर्न लागिएको र त्यसका लागि त्रियुगा नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरेर बजेट व्यवस्थापन गर्ने तयारी गरेको बताउनुभयो । त्रियुगा सभ्यता र विकास कार्यक्रमसँगै तत्कालका लागि २० लाख रुपियाँको बजेट विनियोजन गरी निर्माणका क्रममा रहेको सो सङ्ग्रहालयमा थारू समुदायको योगदान र कला संस्कृति झल्किने विभिन्न वस्तु प्रदर्शनमा राखिने नगरप्रमुख बस्नेतले बताउनुभयो ।
सप्ताहव्यापी मकर मेला सुरु
यसैबिच बिर्तामोड समाचारदाताका अनुसार सूर्य मकर रेखामा प्रवेश गरेको उपलक्ष्यमा यहाँस्थित झापाको कनकाईमाई नदीको दुवै किनारामा परम्परागत रूपमा मकर स्नान गर्न आउने भक्तजनलाई लक्षित गरी सप्ताहव्यापी मकर मेला सुरु गरिएको छ ।
कनकाईमाईको पूर्वी तटमा कनकाई नगरपालिका तथा पश्चिम किनारामा शिवसताक्षी नगरपालिकाले आआफ्नो क्षेत्रमा सप्ताहव्यापी मकर मेला सुरु गरेका हुन् । मेलामा विभिन्न खाद्य परिकार देश तथा विदेशमा उत्पादित लत्ता कपडा, खेलको साथमा तरुल, चाकुलगायतका खाद्य परिकारको प्रदर्शनी र बिक्री हुने कनकाईमाई बेनी मेला आयोजक समितिका अध्यक्ष किरण मैनालीले बताउनुभयो । धार्मिक मेला भएकाले सन्त महन्तको समेत बाक्लो उपस्थिति रहने तथा मेलाको पूर्वसन्ध्यामा कनकाई आरतीको पनि आयोजना गरिएको कनकाईधाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले बताउनुभयो ।
माघ १ गते मङ्गलबार नेपाल तथा छिमेकी देश भारत, भुटानबाटसमेत बाक्लो सङ्ख्यामा भक्तजनको कनकाईमाईमा मकर स्नान र कनकाईमाई बेनी मेला भर्नेको घुइँचो लागेको छ । मेला र मकरस्नानका लागि आगो ताप्ने र सम्पूर्ण सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख किरण मोक्तानले जानकारी दिनुभयो । माघेसङ्क्रान्तिका अवसरमा यस क्षेत्रमा लाग्ने पवित्र माई बेनी मेला कोशी प्रदेशकै ठुलो मेलाका रूपमा लिइँदै आएको छ । यस वर्ष गत पुस २७ गतेदेखि माघ ३ गतेसम्म कनकाई नदीको तटमा मेला लाग्दै आएको छ भने मेलामा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहँदै आएको छ ।