• २ माघ २०८१, बुधबार

छ महिनामा छ वटा मुद्दा

blog

 यदुप्रसाद भट्ट

मनाङ, माघ २ गते । मनाङ जिल्ला अदालतमा वर्षभरिमा छ थान मुद्दा परेको छ । गण्डकी प्रदेशका अन्य जिल्ला अदालतको तुलनामा सबैभन्दा कम मुद्दा पर्नेमा जिल्ला अदालत मनाङ पर्दछ ।

मनाङका धेरै जसो मुद्दामामिला अदालतसम्म जाँदै जाँदैनन् । स्थानीय तहमा नै मिलापत्र हुने गरेको छ । केही जटिल प्रकृतिका तथा स्थानीयस्तरमा छिनोफानो हुने नसकेका मुद्दा मात्रै अदालतसम्म जाने गरेका छन् । यसरी हेर्दा जिल्ला अदालत मनाङमा कुनै पनि मुद्दाको चाप नै देखिँदैन । जिल्ला अदालत मनाङका स्रेस्तेदार लोकनाथ पराजुलीले छ महिनामा छ थान मात्र मुद्दा परेको र त्यसमा पनि एउटा मुद्दा मात्रै फैसला हुन बाँकी रहेको बताउनुभयो । स्रेस्तेदार पराजुलीले भन्नुभयो, “यो अवधिसम्म छ थान मुद्दा दर्ता भए, पाँच थान मुद्दा फैसला भइसकेका छन् । अब बाँकी एउटा मुद्दा मात्रै फैसला हुन बाँकी छ ।” 

उहाँले दर्ता भएका मुद्दामा सम्बन्धविच्छेद, गौवध, भेदभाव तथा छुवाछुत र जबरजस्ती करणीका रहेको र भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा चाहिँ फैसला हुन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै मुद्दा बढीमा छ महिनाभित्रै फैसला हुने गरेको छ । कुनै कुनै मुद्दा त एक/दुई दिनमै मिलापत्र हुने गरेको छ । सामान्यतया एक/दुई महिनाभित्र मुद्दाको फैसला हुन्छ ।” उहाँले भन्नुभयो, “यस वर्ष जम्मा १० थान मुद्दा आउने र आठ थान फस्र्योट हुने आस गरेका थियौँ तर आस गरे अनुरूपका मुद्दा आएनन् । पुस मसान्तसम्ममा दुई थान जिम्मेवारी सरेर आएका मुद्दाको फैसला गरेको र बाँकी तीन थान नयाँ मुद्दाको फैसला गरेको हो । एउटा  मुद्दाको फैसला हुन बाँकी नै छ ।” 

जिल्ला अदालत मनाङमा मङ्सिर मसान्तसम्म ९४ हजार ७६३ रुपियाँ जरिबाना असुल गर्न बाँकी रहेको छ । त्यसै गरी २४१ वर्ष पाँच महिना २५ दिन कैद असुल गर्न बाँकी रहेको छ से्रस्तेदार पराजुलीले जानकारी दिनुभयो । त्यसै गरी १९७ थान मिसिल सफ्टवेयरमा स्क्यानिङ गरेर अभिलेखीकरण गरिसकेको छ भने फैसला कार्यान्वयनतर्फ कुनै पनि निवेदन परेका छैनन् । म्याद तामेलीमा तीव्रता दिएको बताउँदै पराजुलीले भन्नुभयो, “बाहिरबाट आएका म्याद, हाम्रै अड्डा अदालतबाट भएका म्याद बढीमा तीन दिनभित्र तामेली गरिसकेका हुन्छौँ । सबै म्याद तामेली हुन्छ ।”