• ८ वैशाख २०८२, सोमबार

भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल

blog

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई ध्यानाकर्षणपत्र बुझाउँदै एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टोली । तस्बिर : लक्ष्मी तिमिल्सेना

लक्ष्मी तिमिल्सेना
जमुनाह, चैत ८ गते ।
भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि नेकपा (एमाले)ले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई सोमबार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टोलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

भेरी अस्पतालको सेवा सुदृढीकरणको पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ । उक्त समितिका सदस्य भास्कर काफ्ले, मोहीत शाहसहित टेकबहादुर केसी सम्मिलित टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।

लाखौं लगानीको सिटीस्क्यान मेशिन जडान भई विगतमा सञ्चालन भए पनि हाल बन्द रहेको छ । जसले गर्दा यहाँ आउने बिरामीले अन्यत्र सिटीस्क्यान गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता तत्काल हटाउँन सिटीस्क्यान मेशिनको नयाँ जडान वा मर्मतको काम तत्काल गर्न जोडदार गरिएको मिश्रले बताउनुभयो ।

उहाँका अनुसार, पश्चिमको प्रमुख सरकारी अस्पतालमा जम्मा दस शय्या मात्रै आइसीयु सञ्चालन हुनु बिडम्बना हो । कोभिड–१९ को महामारी थेग्ने सामाथ्र्य राखेको अस्पतालले त्यतिबेलाका पूर्वाधार अहिले उपयोग गर्न सकिरहेको छैन । सोका लागि न्यूनतम दश शय्या आइसियु चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापनसहित तत्काल आइसीयु विस्तार गर्न ध्यानाकर्षण गराइएको छ ।

कोभिड–१९ का समयमा अस्पतालको पूर्वाधारमा कायापलट गर्न मास्टर प्लान तयार भएको थियो । त्यसलाई कार्यान्वयन गर्न आवश्यक देखिएको हुँदा त्यसको कार्यान्वयनका लागि अस्पतालको तर्फ आवश्यक पहल गर्न र आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्ने वातावरण तत्काल बनाउन माग गरिएको छ ।

भेरी जस्तो ठुलो अस्पतालमा बेग्लै प्रसुति गृह छैन । जसका कारण धेरै गर्भवती महिलाले सहज तरिकाले उपचार पाउन नसकेको गुनासो गर्दै आएका छन् । त्यस्ता समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।

भेरी अस्पताल बिस्तार गर्दै विशिष्टकृत सेवा, पूर्वाधारसँगै आवश्यक जनशक्तिका लागि स्थायी दरबन्दीको व्यवस्थापन र पदपूर्ति अपरिहार्य बनेको छ । सरकारले यसतर्फ ध्यानाकर्षण गराईएको मिश्रले बताउनुभयो । उहाँका अनुसार ध्यानाकर्षणपत्रलाई मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले सकारात्मकरुपमा लिनुभएको छ । अस्पतालले गर्न सक्ने काम भइरहेको उल्लेख गर्नुुहुँदै डा सुवेदीले माथिल्लो तहबाट हुने कामका लागि सबै पक्षले पहल गरि भेरी अस्पतालको सेवा सुदृढ बनाउन लाग्नुपर्नेमा उहाँको जोड थियो ।

नेपालगन्जसहित पश्चिम नेपालका नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हुँदा सरकारको ध्यानाकर्षण गराउँदै लैजाने मिश्रले बताउनुभयो ।