बैतडी समाचारदाता
बैतडी, माघ २ गते । स्वास्थ्य चौकी जस्तो संवेदनशील क्षेत्रमा पानीको धारा र बिजुलीबत्ती छैन । दुई कोठाको भुइँतले टिनको छानामुनि स्वास्थ्यकर्मीले विगत सात वर्षदेखि जर्किनमा पानी बोक्दै टर्च बालेर प्रसूतिलगायत अन्य सेवा दिँदै आएका छन् ।
स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधि हरिश भट्टलगायतको टिम स्वास्थ्य संस्थाको अनुगमनमा जाँदा सिगास गाउँपालिका–१, जुकेपानीस्थित आधारभूत स्वास्थ्य चौकीमा देखिएको समस्या हो यो । स्थानीय तहको पुनर्संरचनापछि जङ्गलमा निर्माण भएको यो आधारभूत स्वास्थ्य चौकी वरिपरि बस्ती नहुँदा दिउँसै पनि डर लाग्ने गरेको अनमी सबिना कार्कीले बताउनुभयो ।
पूर्वको भोजपुर घर भएकी सबिनाले सुदूरपश्चिमको बैतडी जस्तो दुर्गममा बसेर स्वास्थ्य सेवा गर्ने आफ्नो रहर करमा बदलिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “स्वास्थ्य चौकीमा बत्ती र पानीको धारा छैन । सोलार बिग्रेपछि टर्च बालेर स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेको छ ।” बिग्रेको सोलार देखाउँदै अनमी कार्कीले स्वास्थ्य चौकीको दयनीय अवस्था देखेर सेवाग्राही नै कम आउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्ष जम्मा तीन जना मात्रै प्रसूति सेवा लिने महिला आए । दुई कोठाको भुइँतले टिनको भवनमा प्रसूति गराउने ठाउँ छैन । ओपिडी सेवा लिने कोठासँगै जोडिएको प्रसूति कक्षको झ्याल ढोका बन्द गर्नुपर्ने अवस्था छ । उज्यालोको साधन छैन । यस्तो अवस्थामा टर्च बाल्नुपर्ने हुन्छ ।”
पानीको धारा नहुँदा प्रसूति सेवा दिन जर्किनमा पानी बोकेर ल्याउने गरेको स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र ऐरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी र बिजुलीको माग गरेका छौँ । बिजुली आउने आसामा स्वास्थ्य चौकीमा वाइरिङ गराएर तयार गरेको छु । बिजुलीका पोल र तार आए पनि बत्ती आएको छैन ।” स्वास्थ्य चौकीको दराजमा पर्याप्त औषधि भए पनि सेवाग्राही नै कम देखिएको अनुगमनमा खटिएका स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधि हरिश भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बस्तीनजिक हुनुपर्ने स्वास्थ्य चौकी जनप्रतिनिधिले किन जङ्गलमा राखे ? बुझ्न सकिएको छैन । बिच जङ्गलमा एउटा मात्रै स्वास्थ्य चौकीको भवन छ । त्यहाँ बिजुली, पानी र अन्य कुनै सुविधा छैन । वरिपरि कुनै घर वा क्यान्टिन नहुँदा बिरामीले तातोपानी र खाना खान पाउने अवस्था छैन ।” स्थानीय तहको पुनर्संरचनापछि पाँच रोपनी जग्गा उपलब्ध भएकाले वडा कार्यालयनजिकै आधारभूत स्वास्थ्य चौकी निर्माण गरिएको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भवन मुख्य समस्या हो । बिजुलीको तार र पोल तयार गरे पनि विद्युत्ले लाइन चार्ज गर्न ढिलो गरेको छ । बत्ती आए पानी तानेर पनि व्यवस्था गर्न सकिन्छ । पुनर्संरचनापछि नयाँ वडा बनेकाले गतिलो संरचना अभाव छ । बजेट कतैबाट आउँदैन । गाउँपालिकामा बजेट छैन । प्रदेशसम्म पहुँच पुग्दैन । साह्रै समस्यामा छौँ ।”
स्थानीय प्रसूति सेवा केन्द्रमा गुणस्तरीय सेवा नपाउँदा यो वर्ष मात्रै वडाका २२ जना सुत्केरी महिला स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला डडेलधुरा जान बाध्य भएको सिगास गाउँपालिका–१ का स्थानीय पवन चन्दले बताउनुभयो । उहाँले प्रसूति हुन डडेलधुरा जानुपर्दा एम्बुलेन्सको एकतर्फी भाडा मात्रै १० हजार रुपियाँ तिर्नु परेको पीडा सुनाउनुभयो ।
सिगास गाउँपालिका–१ को जुकेपानी आधारभूत स्वास्थ्य चौकी मात्र होइन, जयपृथ्वीमार्गमै रहेको दुदिलाखान सुरक्षित प्रसूति केन्द्रको अवस्था झन् दयनीय रहेको पाइएको छ । भाडाको जीर्ण घरमा सेवा दिनुपर्दा भत्किने डर भएको स्वास्थ्यकर्मी निर्मला सार्कीले बताउनुभयो ।