वसन्त पराजुली
नारायणगढ, माघ २ गते । चितवन राष्ट्रिय निकुञ्जवाट बाहिर निस्किएका बाघ, गैँडा जस्ता जनावरले चितवनमा बेला बेलामा दुःख दिइ रहने गर्दछन् । पछिल्लो समय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् भने भरतपुर महानगरको सिद्धार्थ टोलमा बाघ आएर जोखिम देखिएपछि निकुञ्जले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
निकुञ्ज कार्यालयका सूचना अधिकारी अविनाश मगरका अनुसार गैँडाको आक्रमणबाट मृत्यु हुनेमा माडि नगर पालिका वडा नम्वर ३ निवासी ५६ वर्षीया छविलाल बोट रहेका छन् । उहाँलाई रिउ खोलाको कासघारीमा गैँडाले आक्रमण गरी मारेको हो । उहाँ भैसी चराउन सो क्षेत्रमा गएको बताइन्छ ।
सो घटनामा सँगै रहेका माडी नगर पालिका वडा नम्वर ३ कै कृष्ण महत्तो, हेमराज महत्तो र राजु वोटलाई पनि गैँडाले आक्रमण गरी घाइते बनाएको छ । उहाँहरु भागेर ज्यान बचाउन सफल हुनुभएको हो । घाइते तीनै जनाको चितवन मेडिकल कलेजमा उपचारपछि घर फर्किसक्नुभएको छ ।
उता भरतपुर महानगर पालिका वडा नम्वर २४ सिद्धार्थ टोलमा बाघ देखिएपछि स्थानिय त्रसिद बनेका छन् । मानव वस्तिमा निस्किएको बाघलाई निकुञ्जले नियन्त्रणमा लिने प्रयास गरि रहेको छ ।
“बाघले एउटा कुकुर मारेर खाएको भनि स्थानियले खबर गरेपछि हामीले त्यो बाघलाई नियन्त्रणमा लिन खोजी कार्य जारी गरी सकेका छौँ । त्यो भेटिने बित्तिकै डार्ट गरेर निकुञ्ज भित्र लगि छाडिने छ”, सूचना अधिकारी मगरले भन्नुभयो । बाघ नियन्त्रणका लागि अहिले निकुञ्जले तीन वटा हात्तीसहितका प्राविधिकहरु परिचालन गरेको पनि उहाँले जनाउनुभयो ।
यस्तै, भरतपुर महानगर पालिका वडा नम्वर २२ पटिहानी पदम पोखरीका एक दम्पत्तिलाई वन मौरीले चिलेर घाइते बनाएको छ । आफ्नो घर नजिकै वाटोमा हिँडिरहेका बेला मङ्गलवार साझ उनिहरुलाई मौरीले चिलेको हो । घाइतेकी छोरी टिका गुरुङका अनुसार ८३ वर्षीय मंगलराज गुरुङ र ७० वर्षीया कान्छी गुरुङलाई वन मौरीले चिलेको हो । उनिहरु मध्ये मंगलराजको अहिले पनि चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भरहेको छ भने कान्छीको उपचार पश्चात घर लगिएको छ । घाइते दुवैको अवस्था मध्यम रहेको बताइन्छ ।