रेखीराम राना
तानसेन, माघ १ गते । नेपालको चार धाममध्येको एक रुरुक्षेत्र धाम रिडीमा माघे सङ्क्रान्तिको मेला सुरु भएको छ । पश्चिम नेपालकै एक ऐतिहासिक प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको रुरुक्षेत्र धाम रिडीस्थित कालीगण्डकीमा स्थान गर्ने र ऋषिकेश मन्दिरमा पूजा गर्न आउने भक्तजनको मङ्गलबार बिहानैदेखि घुइँचो लागेको छ । तीन जिल्ला पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा आजदेखि तीन दिनसम्म सङ्क्रान्ति मेला लाग्ने स्थानीय बासिन्दा बताउँछन् ।
कालीगण्डकी नदीमा स्नान गर्न र ऋषिकेश मन्दिरमा पूजा गर्न आउने भक्तजनको भीडले सो क्षेत्रमा चलहपहल बढेको छ । माघे सङ्क्रान्तिको अवसरमा नेपाल र भारतका विभिन्न स्थानबाट आएका हजारौँ भक्तजन रिडीमा स्नानका लागि भेला भएका छन् ।
कालीगण्डकी नदीमा स्नान गर्ने र नदी तटमा रहेको ऋषिकेश मन्दिरमा पुगेर विशेष पूजा गरेमा जस्तोसुकै पापबाट मोक्ष प्राप्त गरिने जनविस्वास रहेको छ । परापूर्वकालदेखि नै यहाँ स्नान गरी मन्दिरमा पूजा गर्ने, घरेलु उत्पादित वस्तुको बिक्री गर्ने प्रचलन रहेको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिनुभयो । रिडीमा लाग्ने माघे सङ्क्रान्ति मेलाको धार्मिक, सामाजिक र ऐतिहासिक महत्त्व रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार रुरुक्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्नाले देवऋण, पितृऋण, ऋषिऋण तिरिने धार्मिक किम्बदन्ती छ । माघेसङ्क्रान्तिको पहिलो, दोस्रो र तेस्रो दिन रिडीमा आफ्ना पितृहरूलाई पिण्ड दिने प्रचलन छ । आफ्ना पितृहरूलाई सम्झेर तिथि श्राद्ध गर्नाले काशी–गया पुगेर दिए सरह फल प्राप्त हुने शास्त्रमा उल्लेख रहेको स्थानीय बासिन्दा बताउँछन् ।
रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ । रिडी क्षेत्रमा प्राचिन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक विस्वास रहेको छ ।
सङ्क्रान्ति मेलासँगै यस भेगका स्थानीय बासिन्दा व्यापार–व्यवसायका लागि यहाँ आउने गरेका छन् । पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ्, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीका लागि व्यापारीहरू आएका छन् ।
रोल्पा, रुकुम सल्यान, प्युठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङमा उत्पादन हुने ऊनीजन्य वस्तुहरू राडीपाखी, कम्बल, बाँसका सामग्रीहरू, जडीबुटीहरू विक्री गर्न व्यापारीहरू रिडीमा आएका रुरुक्षेत्र गाउँपालिका वडा नं. १,का अध्यक्ष नवराज बीकेले बताउनुभयो ।