जनार्जन खत्री
सर्लाही, जेठ २० गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–५, फूलजोर चोकमा मङ्गलबार दिउँसो टिपरको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
दुर्घटनामा सर्लाहीको मलङ्गवा नगरपालिका–३, निवासी मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकको पिएसओको रूपमा कार्यरत बाजुराको बडीमालिका नगरपालिका–६, घर भएका प्रहरी जवान ३० वर्षीय मीनबहादुर दानीको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान दानीलाई सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि एल.एस. न्युरो अस्पताल बारा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो ।
मङ्गलबार दिउँसो १ बजेतिर बयलवासबाट फूलजोरतर्फ आउँदै गरेका प्रहरी जवान दानी सवार बीआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकललाई रानिगन्जबाट फूलजोरतर्फ गइरहेको ना. १ क ८५२० नम्बरको टिप्पर ले फूलजोर चोकमा ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न टिपर प्रहरी चौकी फूलजोर र चालक इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासको नियन्त्रणमा रहेका छन् ।
मृतक प्रहरी जवान दानी नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं. १ गुल्म नं. २ नक्साल काठमाडौँमा दरबन्दी रहेर मुस्लिम आयोगका सदस्य हकको पिएसओको रूपमा कार्यरत हुनुहुन्थ्यो । सर्लाहीमा केही दिनअघि मात्रै पूर्व पश्चिम राजमार्गस्थित बागमती नगरपालिका–१, मिलनचोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको मृत्यु भएको थियो भने पछाडि सवार व्यक्ति घाइते भएका थिए ।
अहिले एशियन मापदण्डमा निर्माण भइरहेको पूर्व पश्चिम राजमार्ग विस्तारको काममा माटो ओसार्न व्यापक मात्रामा टिपरको प्रयोग भइरहेको छ । ती टिपर लापरवाही ढङ्गले चलाउँदा दुर्घटना बढेको स्थानीयले गुनासो गरेका छन् ।