• २२ जेठ २०८२, बिहिबार

वरिष्ठ युक्रेनी अधिकारीहरू वार्ताका लागि वासिङ्टनमा

blog

किएभ, जेठ  २० गते । रुस–युक्रेन शान्ति वार्ताको पछिल्लो चरणको एक दिनपछि रक्षा र आर्थिक मामिलामा अमेरिकी अधिकारीहरूसँग वार्ताका लागि युक्रेनी शीर्ष अधिकारीहरूको प्रतिनिधिमण्डल मङ्गलबार वासिङ्टन आइपुगेको छ ।

इस्तानबुलमा सोमबार रुससँग भएको प्रत्यक्ष वार्ताको दोस्रो चरण कुनै सफलता बिना समाप्त भएपछि किएभको प्रतिनिधिमण्डलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीसँग भेट गर्नेछ ।

संयुक्त राज्य अमेरिकाले छिमेकी देशबीच तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासमा निकै कम प्रगति भएकाले ट्रम्प किएभ र मस्कोसँग निराश हुनुभएको छ ।

“हामी रक्षा सहयोग र युद्धको स्थिति, रुस विरुद्धको प्रतिबन्धलाई बलियो बनाउने बारेमा कुरा गर्ने योजना बनाउँछौँ”, राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भन्नुभयो ।

प्रतिनिधिमण्डलको नेतृत्व युक्रेनकी अर्थमन्त्री युलिया स्विरिडेन्कोले गर्ने र यसमा रक्षा अधिकारीहरू पनि समावेश रहेको यर्माकले जानकारी दिनुभयो ।उहाँले युक्रेनीहरूले रिपब्लिकन र डेमोक्रेट अधिकारीहरूका साथै ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोली’ सँग भेट गर्ने बताउनुभयो ।

प्रतिनिधिमण्डलले ‘रुसद्वारा निर्वासित युक्रेनी बालबालिकाहरूको फिर्ती’ को विषयमा पनि छलफल गर्ने यर्माकले बताउनुभयो ।सोमबारको वार्ताका क्रममा किएभले रुसलाई सयौँ युक्रेनी बालबालिकाको सूची दिएको बताएको छ । युक्रेनले ती बालबालिकालाई रुसले आफ्नो आक्रमणका क्रममा जबरजस्ती लगेको बताएको छ ।

जनवरीमा ह्वाइट हाउस फर्केपछि युक्रेनमा युद्ध द्रुत रूपमा अन्त्य गर्ने वाचा गर्नुभएका ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्की दुवैमाथि बारम्बार आक्रोश व्यक्त गर्नुभएको छ । एएफपी