काठमाडौँ, जेठ २१ गते । नेपालकी कराते स्टार एरिका गुरुङले विश्व कराते महासङ्घको नयाँ वरियतामा ठुलो छलाङ मार्नुभएको छ ।
एरिका महासङ्घले मङ्गलबार सार्वजनिक गरेको नयाँ वरीयतामा २३ स्थान सुधार गर्नुभएको हो । यसअघि ५०औँ स्थानमा रहनुभएकी एरिका नयाँ वरीयताको महिला ६८ केजीमाथि तौलको २७औँ स्थानमा उक्लिनुभएको छ ।
एरिकाले भर्खर मोरक्कोको रावतमा सम्पन्न विश्व कराते–१ प्रिमियर लिगको महिला ६८ केजी माथि तौल समूहमा ऐतिहासिक कांस्य पदक जित्नुभएको थियो । एरिका दुर्लभ प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी र पदक धारी समेत हुनुहुन्छ ।
एरिकाले विश्व करातेको यस स्पर्धामा पहिलो सहभागितामै सफलता हात पार्नुभएको हो । विश्व कराते महासङ्घले ३२ खेलाडीलाई मात्र प्रिमियर लिगमा सहभागी गराउँदै आएको छ ।