• २९ पुस २०८१, सोमबार

नागरिक लगानी कोषले १३ प्रतिशत बोनस र लाभांस दिने

blog

नागरिक लगानी कोषको साधारण सभामा सहभागी ।

काठमाडौँ, पुस २९ गते । नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत बोनस र लाभांस दिने प्रस्ताव पारित गरेको छ । कोषको सोमबार सम्पन्न ३०औँ साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो । 

कोष सञ्चालक समितिका अध्यक्ष प्राडा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांस (कर सहित) स्वीकृत गरेको छ ।    

यसैगरी साधारण सभाले आ.व २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित पनि गरेको छ ।  लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको हो ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा.थापाले कोषको कार्यक्रमहरूको थप प्रवर्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताउनुभयो । कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढङ्गले बढाइने उहाँको भनाई छ । 

कोषले सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने समेत जनाएको छ । प्राडा.थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको पनि बताउनुभयो । 

साधारण सभामा सेयरधनीहरूबाट उठाइएका जिज्ञाशाको बारेमा अध्यक्ष प्राडा.थापा र कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिनुभएको थियो ।  निर्देशक कार्कीले कोषको वस्तुस्थिति बारे बताउँदै सेयरधनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूको बारेमा विस्तृत रूपमा जानकारी दिँदै सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउनुभयो । 

हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांस दिन कोष सफल भएको पनि कार्यकारी निर्देशक कार्कीले बताउनुभयो ।  

साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब ६१ अर्ब  रुपियाँ पुगेको छ । उक्त अवधिमा कोषले दुई खर्ब ५० अर्ब रुपियाँ लगानी गरेको छ ।