• २९ पुस २०८१, सोमबार

पशुपक्षी अस्पताल भवन निर्माण अलपत्र

blog

अलपत्र परेको भवन । तस्बिर : अमरराज नहर्की

अमररराज नहर्की

तनहुँ, पुस २९ गते । निर्माण कम्पनीको लापरबाहीले गर्दा तनहुँको सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँको परिसरमा बन्दै गरेकाे नमुना पशुपक्षी अस्पतालको भवन अलपत्र परेको छ । एक वर्षअघि नै सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कार्य ठप्प छ । 

पशुपक्षीकाे उपचारमा स्तरीय सेवा दिने उद्देश्यले गत पुसमा सम्पन्न गर्नेगरी भएको निर्माण सम्झौता पूरा नभएपछि भदौ सम्मको म्याद थप भएको थियो । त्यसमा पनि भवनको काम भने अधुरै रहेकोले ठेक्का तोड्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेशकुमार चौधरीले जानकारी दिनुभयो । 

निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले सम्झौता अनुरूप सम्पन्न गर्न नसकिएको हालसम्म ६५ प्रतिशत मात्रै काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हालको ठेकेदारले काम नगरे ठेक्का तोडेर भए पनि अस्पताल भवनको भौतिक निर्माण यसै वर्षभित्र सक्ने लक्ष्य लिएका छौँ ।” एक साताभित्र काम सुरु नगरे ठेक्का रद्द गर्ने चेतावनी दिइएको उहाँले बताउनुभयो । 

भवन निर्माणको जिम्मा इको बिल्डर्सले पाएको छ । जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कम्पनीलाई दबाब दिँदै आएको ठेक्का तोड्ने भन्ने चेतावनी दिएपछि हाल सामान धेरै ल्याएर काम गर्न थालिएको चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो, "जहिले पनि पर्सी आउँछु भन्छन्, तर आउँदैनन् माघको पहिलो साता सम्म पनि काम सुरु नगरेर ठेक्का तोड्नु पर्ने बाध्यता हुन्छ ।"

केन्द्रका अनुसार गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक चार करोड ९० लाख रुपियाँको लागतमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजना अन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै जाने योजना छ । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न १० करोड रुपियाँ लाग्ने अनुमान छ । 

दमौलीमा पशु अस्पताल सञ्चालन भएपछि तनहुँका साथै छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी आसपासका किसान लाभान्वित हुने छन् । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने छ ।