भाइबहिनीहरू, हिमाली पारिस्थितिक प्रणालीमा अवस्थित से फोक्सुन्डो राष्ट्रिय निकुञ्जको स्थापना २०४० सालमा भएको हो । यस निकुञ्जमा नेपालको सबैभन्दा गहिरो ताल से–फोक्सुन्डो र ऐतिहासिक से गुम्बा रहेका छन् । सुन्दर ताल र ऐतिहासिक महत्वको गुम्बाको नाम जोडेर यस निकुञ्जको नामकरण गरिएको हो ।
यो नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो । डोल्पा र मुगु गरी दुई जिल्लामा फैलिएको यस निकुञ्जको क्षेत्रफल तीन हजार ५५५ वर्गकिलोमिटर छ । यसको मध्यवर्ती क्षेत्र एक हजार ३४९ वर्ग किलोमिटर छ । नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा अवस्थित यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।
यस निकुञ्जमा हिउँचितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर, घोरललगायतका हिमाली क्षेत्रमा पाइने धेरै वन्यजन्तु पाइन्छन् । सल्ला, धुपी, गुराँस जस्ता एक हजार तीन सय वनस्पतिको घर बनेको यो निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत दुई सय प्रजाति पन्छी, छ प्रजातिका सरीसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ ।
यस निकुञ्जको करिब ७० प्रतिशत भूभाग घाँसे मैदानले ढाकेको छ । हिमाली पारिस्थितिक प्रणालीको जादुमयी प्राणी हिउँचितुवाको मुख्य वासस्थान हुनु यो निकुञ्जको मुख्य विशेषता हो । यहाँ पाइने हिउँचितुवाको आहारविहारबारे गरिएका विभिन्न अनुसन्धानले यो निकुञ्ज हिउँचितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको छ ।
हिउँ चितुवालाई स्वस्थ हिमाली पारिस्थितिक प्रणालीको सूचक मानिन्छ । २०८० सालको गणना अनुसार यस राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ९० वटा हिउँचितुवा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
निकुञ्जको मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो से धधफोक्सुन्डो ताललाई सन् २००७ मा रामसार (अन्तर्राष्ट्रिय महìवको सिमसार घोषणा भएको क्षेत्र) मा सूचीकृत गरिएको छ । यो नेपालको सबैभन्दा गहिरो र दोस्रो ठुलो ताल हो । से फोक्सुन्डो ताल सूर्यको प्रकाश अनुसार रङ फेरिरहने र मनमोहक तालका रूपमा विश्व प्रसिद्ध छ । नेपालकै सबैभन्दा अग्लो भूभागमा रहेको मानव बस्ती यहाँकै धो ताक्सी उपत्यकामा पर्दछ । से फोक्सुन्डो तालबाट बगेको देशकै सबैभन्दा ठुलो सुलिगाँड झरना यहीँ छ । यसलाई फोक्सुन्डो झरना पनि भनिन्छ । यो झरना समुद्री सतहबाट तीन हजार ६१३ मिटरको उचाइमा छ । यो नेपालको सबभन्दा उच्च स्थानमा रहेको झरना पनि हो ।