• २८ पुस २०८१, आइतबार

फल्नुअघि नै आलु बिक्री

blog

अमरराज नहर्की

तनहुँ, पुस २८ गते । फल्नुअघि नै तनहुँका किसानको आलु बिक्री भएको छ । कम्पनीले आलु सिधै खरिद गरेर लैजाने सम्झौता भएकाले फल्नुअघि नै आलु बिक्री भएको हो । आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र तनहुँ, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबिच सम्झौता भए अनुसार नै आलु बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । 

केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम अन्तर्गत किसान र कम्पनीबिच दुई महिनाअघि नै सम्झौता गरिएको थियो । 

तनहुँको घिरिङ गाउँपालिकाको गजरकोट, पुट्टार क्षेत्रमा उर्वरा कृषि समूहले एक सय रोपनी क्षेत्रफलमा लगाएको आलु खरिदका लागि सम्झौता गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आलु उत्पादन गर्ने समूह सहकारीलाई निःशुल्क विषादी, ढुवानी, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ । 

कार्यक्रम अन्तर्गत ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ । आलु लगाउने किसानलाई बिउमा ७५ प्रतिशत अनुदान रकम प्रदान गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट प्रमाणित भएका खुमल उज्ज्वल, खुमल विकास, जनकदेव जातको आलु लगाइएको छ । उत्पादन भएको आलु बजारमा चलनचल्तीको दरबमोजिम कम्पनीले खरिद गर्ने सम्झौता भएको केन्द्रले जनाएको छ ।

नेपालमा उत्पादन भएको आलुभन्दा भारतबाट आयात गरेको आलु सस्तो पर्ने भए पनि कम्पनी नेपाली किसानलाई प्रोत्साहनका लागि खरिद सम्झौता गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपालप्रसाद लामिछानेले बताउनुभयो ।

किसानले उत्पादन गरेको परिमाणका आधारमा कृषि ज्ञान केन्द्रले प्रतिकेजी दुई रुपियाँ प्रोत्साहन रकम अनुदान उपलब्ध गराउने लामिछानेले जानकारी दिनुभयो । आलु लगाउनुपूर्व नै बजारको सुनिश्चित भएपछि अहिले समूह सहकारी आलु खेतीको विस्तारमा लागेको उहाँ बताउनुहुन्छ । 

खुमल उज्ज्वल, खुमल विकास, खुमल उपहार र जनकदेव जातका उत्पादित आलु रुपन्देहीको शुद्धोदन गाउँपालिकाको मैनियामा रहेको फस्र्ट च्वाइस फुड्स प्रालिले खरिद गर्ने सम्झौतामा उल्लेख छ । गत वर्षदेखि कम्पनीले आलुबाट फ्रेन्च फ्राई, चिप्स उत्पादन गरिरहेको छ । त्यसका लागि खुमल जातको आलु उपयुक्त हुने केन्द्रले जनाएको छ ।