• २७ पुस २०८१, शनिबार

मेरो गाउँ (कविता)

blog

सम्झ, सबै त यहीँ छ 

बाजेबराजु बस्ने 

देवताको थान जस्ता खेतका गराहरू  

मुलायम जुल्फी जस्ता 

लामा लामा गोरेटाहरू 

छन् मुस्कुराउँदा

तल माथि पर्दा झैँ हल्लने 

आँखीभौँ जस्ता

चुलबुले पाठाहरू 

मनमा शीतल सन्तुष्टि दिने 

पानीको जरुवा र कुलेसाहरू 

यहीँ छन्

पुँजी बजारमा आयातित

अत्तरभन्दा सैयौँ गुणा अर्गानिक बास्ना दिने

बेली चमेलीहरू 

यहीँ 

हर साँझबिहान ओहोरदोहोर गर्छन्  

निश्छलताले नुहाएर देवदूत जस्ता मानिसहरू !

तर आँखाले नदेखुन्जेलसम्म 

विश्वास नलाग्न सक्छ

आएर हेर्नुस्, थाहा पाउनुहुने छ 

यही हो, स्वर्गको एक टुक्रा 

मेरो गाउँ ।   

Author

विवेक दुलाल क्षेत्री