नवलपुर (नवलपरासी), पुस २६ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सन निर्माणपछि सञ्चालनमा आएको छ ।
विनयी त्रिवेणी गाउँपालिका –१ मा पर्ने खोलामा पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी –२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी शाहका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कनेगरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो ।
आज अपराह्न विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिदा राजमार्ग अवरुद्ध भएको थियो । उक्त पुल भाँचिदा बुटवलबाट चितवनतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एनएल शून्य एक एएच नम्बरको ७४ चक्के टेलर पुलको बीचमा फसेको छ । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रासस