• १० माघ २०८१, बिहिबार

खाना महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी

blog

कार्यक्रमबारे जानकारी दिँदै आयोजक । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, पुस २६ गते । बुटवलमा खाना महोत्सव तथा माघे संक्रान्ति मेला गर्ने तयारी गरिएको छ । पुसको २९ देखि माघको २ गतेसम्म दीपनगरको सिद्देश्वरी खेल मैदानमा ‘बुटवल खाना महोत्सव तथा माघे सक्रान्ति मेला’ गर्ने तयारी गरिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिनुभयो ।

महोत्सवले समुदाय, जातजाती तथा भाषभाषीका सांस्कृतिक पहिचान, परम्परा, र रितिरिवाजलाई उजागर गर्नुको साथै संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै संघका अध्यक्ष भण्डारीले खाना महोत्सव र माघी मेला जस्ता कार्यक्रमहरूले परम्परागत संस्कृति, सामुदायिक एकता, र आर्थिक समृद्धिलाई बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले गर्ने बुटवल खाना महोत्सव तथा माघे सक्रान्ति मेला सम्पन्न गर्नको लागि संघका अध्यक्ष लेखनाथ भण्डारीको संयोजकत्वमा समारोह व्यवस्थापन मूल समिति गठन गरिएको छ भने विभिन्न विषयगत २७ वटा उपसमिति गठन गरिएको संघका महासचिव अर्जुन थापाले जानकारी गराउनुभयो । उहाँका अनुसार गठित मुल समिति र विषयगत समितिले तयारीका कामलाई तिब्र रुपमा अगाडि बढाएका छन् ।

‘नेपाली मौलिक कला संस्कृति र रैथाने खानाका परिकारहरु हाम्रो शान, सहरदेखि गाउँसम्मको पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान’ भन्ने नारा सहित सञ्चालन गरिने खाना महोत्सव तथा माघेसक्रान्ति मेलामा स्थानीय तथा विभिन्न जातजातीका साँस्कृतिक पहिचानका परिकारहरु, पाल्पाको पहिचान जोडिएको चुकाउनी, बटुक लगायत रैथाने खानाका परिकार पस्किने उहाँले बताउनु भयो । मेलामा ६५ वटा स्टल राख्ने राखिने सचिव थमनबहादुर भण्डारीले बताउनुभयो ।

त्यसैगरी तीनदिनसम्म गरिने खाना महोत्सव तथा माघेसक्रान्ति मेलामा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । विविध साँस्कृतिक कार्यक्रममा विभिन्न जातजातीका सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकाहरुको प्रस्तुती रहनेछ भने डिजे र यहाँका दोहोरी साँझ तथा कला केन्द्रहरुको प्रस्तुती रहने संघका महासचिव अर्जुन थापाले जानकारी गराउनुभयो ।

बुटवल खाना महोत्सव तथा माघे सक्रान्ति मेलालाई स्थानीय सबै संघसंस्थाहरुको समेत अपनत्व हुनेगरी तयारी गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा संघसंस्था समन्वय संयोजक माधवप्रसाद खनालले जानकारी गराउनुभयो ।