नारायणगढ समाचारदाता
नारायणगढ, पुस २६ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा लगानीको वातावरण बनाउन पहल भइरहेको बताउनुभएको छ । चितवन महोत्सव–२०८१ को बिहीबार नारायणगढमा उद्घाटन गर्दै मन्त्री भण्डारीले नीतिगत र प्रशासनिक सुधार गरेर पनि देशमा लगानीको वातावरण बनाउन सरकार लागेको बताउनुभएको हो ।
“आर्थिक ऐन संशोधन गरेरै भए पनि आन्तरिक र बाह्य लगानीका बाधक ऐन संशोधन गरेर हामी अगाडि बढ्दै छौँ,” उहाँले भन्नुभयो ।
आन्तरिक लगानी बढाउन उद्योग व्यवसायको संरक्षण गर्ने र ब्याजमा सुविधा दिनुपर्ने उहाँको धारणा थियो । त्यसका लागि आन्तरिक र बाह्य लगानी भित्र्याएर लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
सो क्रममा उहाँले उद्योग व्यवसायमा छिटोछरितो सुशासनको अनुभूति दिने गरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो । “युवालाई न्यून ब्याजमा लगानीको वातावरण गराउन सरकारले पहल सुरु गरेको छ,” उहाँले भन्नुभयो, “नवीनतम सोचका साथ न्यून ब्याजमा युवालाई लगानीको वातावरण तयार गर्नु पर्छ भनेर सरकारले आफ्नो काम अगाडि बढाएको हो ।”
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले समग्र चितवनको आर्थिक विकासमा महोत्सव सार्थक भएको बताउनुभयो ।
हरेक दुई/दुई वर्षमा आयोजना हुने चितवन महोत्सवको यो वर्ष १५ औँ शृङ्खला हो । महोत्सव २०५३ सालबाट सुरु गरिएको हो । महोत्सव माघ १० सम्म सञ्चालन हुने छ । महोत्सवमा यस वर्ष केराको थामबाट रेसा निकाल्ने कामको प्रत्यक्ष अवलोकन गराइएको छ ।