• २६ पुस २०८१, शुक्रबार

पुर्जाको कम्पनीले करोडभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २६ गते । साढे दुई वर्षअघि काठमाडौँको कपनमा भएको आगलागीको घटनामा पर्वतारोही निर्मल पुर्जाको कम्पनी इलाइट हिमालयन एडभेन्चर प्रालिले घरधनीलाई करोडभन्दा क्षतिपूर्ति तिर्नुपर्ने अदालतले फैसला गरेको छ । २०७९ असोज ६ मा घटनामा घरधनीले बिमा रकम पाउने भन्दै कम्पनीले क्षतिपूर्ति दिन इन्कार गरेको थियो तर जिल्ला अदालत काठमाडौँले इलाइट हिमालयनबाट एक करोड १३ लाख ९९ हजार रुपियाँ क्षतिपूर्ति घरधनीलाई भराइदिने फैसला अदालतले गरेको हो । 

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आंशिक दाबी पुग्ने फैसला गरेको हो । घरधनी टङ्क घिसिङले तीन करोड रुपियाँ क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेकोमा आंशिक दाबी पुग्ने फैसला भएको घिसिङका कानुन व्यवसायी अनन्तराज लुइँटेलले जानकारी दिनुभयो । 

वडा कार्यालयको रोहवरमा भएको मूल्याङ्कन र इन्जिनिरिङ प्रतिवेदनले घर बस्न योग्य नरहेको ठहर गरेपछि क्षतिपूर्ति मुद्दा दायर भएको थियो । २०७६ मङ्सिर १ गतेदेखि द्विपक्षीय करारका आधारमा कम्पनीले ट्रेकिङ कार्यालय सञ्चालन गर्दै आएको थियो । 

कम्पनीले आफ्नो अनुमति नलिई गैरकानुनी रूपमा भण्डारण गरेको अक्सिजन ग्यास र एलपी ग्यास विस्फोटबाट घर ध्वस्त भएको जिकिर घिसिङले गर्नुभएको थियो । दृष्कृतिले भएको क्षतिको रकम भराइदिने कानुनी व्यवस्था अनुसार अदालतले उक्त फैसला गरेको हो । कसैले भण्डारण गरेको विस्फोटक पदार्थ विस्फोट भई क्षति भएमा धनीले क्षति बेहोर्नुपर्ने कानुनी व्यवस्था अनुसार मुद्दा अदालत प्रवेश गराइएको थियो । 

मुलुकी देवानीसंहिता २०७४ को दफा ६७८ ले कुनै मेसिन, उपकरण वा यन्त्रलाई त्यसको प्रकृति अनुसार उपयुक्त ढङ्गबाट सुरक्षाका उपाय नअपनाएका कारणबाट त्यसमा आगलागी भएमा वा विस्फोटन भएमा धनीले क्षति बेहोर्नुपर्ने व्यवस्था गरेको छ तर कम्पनीले भने बिमा दाबी लिइसकेपछि दोहोरो लाभ लिने अधिकार घरधनीलाई नरहेको भन्दै क्षतिपूर्ति तिर्न नपर्ने जनाउँदै आएको थियो ।  

झन्डै अढाई वर्षअघिको घटनामा कपन लसुनटारस्थित घिसिङको साढे तीनतले घर पूर्ण रूपमा क्षति भएको थियो । उक्त घरको अवस्थाबारे अदालतले समेत स्थलगत निरीक्षण गरेको थियो । उक्त आगलागीको घटनामा कम्पनीमा कार्यरत तीन जनाको ज्यानसमेत गएको थियो । बेलायतमा स्थायी रूपमा बस्दै आएका पुर्जा कीर्तिमानी आरोहीसमेत हुन् । इलाइट हिमालयन एडभेन्चरका सञ्चालक आरोही पुर्जा हुनुहुन्छ ।