बेइजिङ, पुस २५ गते । विश्वमा नवीकरणीय ऊर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ ।
चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ ।
हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ । सीपीसीएका अनुसार गत वर्ष कुल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो ।
सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाखभन्दा बढी पुगेको छ । यो वर्षभरlको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो ।
विश्वको सबैभन्दा ठुलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो । रासस/एएफपी