• १६ भदौ २०८१, आइतबार

घरजग्गा कारोबारमा कमी

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, जेठ १० गते  । वैशाख महिनामा देशभर घरजग्गाको कारोबारमा गिरावट आएको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म बढेको घरजग्गाको कारोबार चैतदेखि ओरालो लाग्न थालेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । तरलता अभाव, कर्जामा कडाइ, ब्याजदर वृद्धि र स्थानीय चुनावका कारण जग्गा कारोबारमा कमी आएको विभागका महानिर्देशक पीताम्बर घिमिरेले जानकारी दिनुुभयो । 

विभागका अनुसार चालू आर्थिक वर्षको फागुन महिनामा वर्षकै सबैभन्दा धेरै एक लाख ६२ हजार ६७८ वटा कारोबार भएको थियो । चैत महिनामा घटेर एक लाख ५९ हजार २६३ वटा कारोबार भएकोमा वैशाख महिनामा कारोबार सङ्ख्या ९८ हजार ९७७ मा झरेको विभागले जनाएको छ । गत आर्थिक वर्षको वैशाख महिनामा एक लाख १५ हजार ९२४ वटा कारोबार भएको थियो । 

विभागका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा घरजग्गाको एक लाख ९० हजार ७९ कारोबार भएकोमा भदौ महिनामा बढेर दुई लाख ३६ हजार पुुगेको थियो । यसैगरी असोज महिनामा एक लाख ६८ हजार ६०८, कात्तिकमा एक लाख ३४ हजार ५४९, मङ्सिरमा एक लाख ६९ हजार आठ सय, पुसमा एक लाख ५७ हजार १३८ र माघमा एक लाख ३२ हजार ५३ कारोबार भएको थियो ।

यसैबीच वैशाख महिनामा घरजग्गाको कित्ताकाटमा समेत कमी आएको छ । चैत महिनामा एक लाख ७२ हजार कित्ताकाट भएकोमा वैशाखमा घटेर एक लाख नौ हजार ५५५ कित्ताकाट भएको तथ्याङ्क छ । घरजग्गा कारोबार ह्वात्तै घटेसँगै कित्ताकाट पनि ओरालो लागेको छ । 

घरजग्गाको कारोबार घटेसँगै राजस्व सङ्कलनमा समेत कमी आएको विभागले जनाएको छ । वैशाख महिनामा घरजग्गाको कारोबारमा कमी आएसँगै राजस्व सङ्कलन घटेर चार अर्ब ७८ करोड ५२ लाख आठ हजार रुपियाँ झरेको विभागले जनाएको छ । फागुन महिनामा घरजग्गा कारोबारबाट छ अर्ब २६ करोड १६ लाख १० हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा चैत महिनामा पाँच अर्ब ७५ करोड ७७ लाख ७८ हजार रुपियाँ सङ्कलन भएको थियो । 

यस्तै माघ महिनामा पाँच अर्ब ५० करोड १८ लाख ५० हजार रुपियाँ, पुसमा सात अर्ब ७० करोड ४२ लाख ५० हजार, मङ्सिरमा सात अर्ब ६६ करोड पाँच लाख ६० हजार, कात्तिकमा पाँच अर्ब ४९ करोड ५१ लाख ८८ हजार, असोजमा सात अर्ब ३३ करोड २१ लाख १५ हजार, भदौमा आठ अर्ब २६ करोड ८५ लाख ३२ हजार र साउन महिनामा आठ अर्ब १३ करोड ४१ लाख ६१ हजार रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।