• २५ पुस २०८१, बिहिबार

नेपालीहरु शान्तिबाट समेत पीडित बनेका छन् : पूर्व कानुनमन्त्री शर्मा

blog

राजेन्द्र ढकालको २६ औं स्मरण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी अतिथि ।

काठमाडाैं, पुस २४ गते । पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएको बताउनुभएको छ । बुधवार काठमाडौंमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरुको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन नसक्दा शान्ति आए पनि पीडाको सम्बोधन हुन नसकेको बताउनुभयो । उहाँले राज्यको दायित्व सशस्त्र जनयुद्धताका मानिसहरु बेपत्ता कसरी बनाइए भन्ने कुराको जानकारी आम जनताले पाउनुपर्ने भए पनि अहिलेसम्म पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले यो हक संविधानले समेत दिएको हक रहेको उल्लेख गर्दै मानिसहरु द्वन्द्वबाट पीडित भएकै अवस्थामा शान्तिबाट समेत पीडित हुनुपरेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, "राज्यको दायित्व भनेको उनीहरु कसरी र किन बेपत्ता पारिए त्यसको कारण परिवारले र आम मानसिले जान्न पाउनुपर्छ । समाजले जान्न पाउनुपर्छ । सिङ्गो अन्तर्राष्ट्रिय समुदायले समेत जान्न पाउनुपर्छ । यो जान्न पाउने हक नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय सन्धि मात्र होइन । हाम्रो आफ्नै संविधानद्वारा दिइएको हक हो । त्यो हक आज इन्कार गरिएको अवस्था छ । मान्छे द्वन्द्वबाट पीडित भएको त छँदै थिए, मान्छे शान्तिबाट पीडित हुन पुगे अहिले । द्वन्द्वबाट मात्र होइन, शान्तिबाट पीडित । शान्ति आयो तर त्यो शान्तिले पीडाको सम्बोधन गर्न सकेन । त्यसैले अहिले द्वन्द्वपीडित होइन साथीहरु शान्तिपीडित हुन पुगेको छ । यो अवस्थाबाट पार पाउन जरुरी छ ।"

कार्यक्रममा बोल्दै पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले शान्ति प्रक्रिया आजसम्म पनि टुङ्गो लाग्न नसक्नु गम्भीर विषय भएको बताउनुभयो । उहाँले अहिले पनि गम्भीर विषय भन्ने तर गम्भीरतापूर्वक नलिने परिस्थिति देशभित्र विद्यमान रहेको बताउनुभयो । उहाँले पीडित, अन्तर्राष्ट्रिय संस्थाहरुको अगाडि शान्ति प्रक्रियाबारे छुट्टाछुट्टै बयान दिने तर काम केही पनि नगर्ने कुराले शान्ति प्रक्रिय टुङ्गो लगाउन नसकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, "आजका दिनमा पनि यो विषय गम्भीर विषय हो भन्न कोही नछोड्ने तर गम्भीरतापूर्वक नलिने परिस्थिति देशभित्र विद्यमान रह्यो । यो सच्चाइ हो, पीडितहरुको आवाजबाट आएको कुराहरु गलत भइरहेका छैनन् । के हामीले चरण चरणमा रहेका वार्ता संवादहरुबाट त्यो कुराहरु अघि बढाउने कुरामा मिसिङ गरिरहेका छैनौँ ? गल्ती गरिरहेका छैनौँ ? हामीले अन्तर्राष्ट्रिय संस्थाहरुको अगाडि एउटा, भिक्टिमको अगाडि एउटा कुरा गर्ने, अर्काथरीसँग अर्को कुरा गर्ने तर काम केही पनि नगर्ने गर्याैं भने हामी कहीँ पनि पार लाग्दैनाैं । यसरी यो चिज पार पनि लाग्दैन ।"

पूर्वमन्त्री खरेलले काम केही नगर्ने र कुरा मात्रै ठूला गरेर परिणाम नदिने बताउनुभयो । आरोप र प्रत्यारोपले समाधान ननिस्किने बताउनुभयो ।