• २५ पुस २०८१, बिहिबार

कपडा बैंकले गरिब तथा विपन्नलाई सहज

blog

कपडा बैंकमा कपडा देखाउँदै वडाध्यक्ष कृष्णसिंह बानियाँ । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २४ गते ।
बेनी नगरपालिका वडा नम्बर ६ को कार्यालयले कपडा बैंक सञ्चालन गरेपछि आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्गलाई सहज भएको छ । अर्थुङ्गेस्थित वडा कार्यालयमा सञ्चालित कपडा बैंक महिनाको दुई पटक शनिबारका दिन खोल्ने व्यवस्था गरिएको छ ।

कपडा बैंक खुल्ने दिनमा आर्थिक अवस्था कमजोर भएका वडावासीहरुले आफूलाई आवश्यक पर्ने कपडा लैजाने गर्दछन् । गरिब तथा विपन्नहरुलाई सहज होस् भनेर वडा कार्यालयले  दुई वर्ष अघि कपडा बैंक स्थापना गरेको बेनी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो ।

कपडा बैंकमा आएर कपडा लैजान चाहनेहरुले दश रुपियाँ शुल्क तिरेर आफूलाई आवश्यक पर्ने एकजोडा कपडा लैजान पाउने व्यवस्था मिलाइएको वडाध्यक्ष बानियाँले बताउनुभयो । सहयोग जुटाएर कपडा बैंकमा सिजन अनुसारका कपडाहरु सङ्कलन गरिएको छ ।

चिसो मौसम र चाडपर्वमा एक जोडा कपडाको जोहाे गर्न नसक्ने विपन्न घरपरिवारलाई कपडा बैंक खुलेपछि निकै सहज भएको छ । कपडा बैंकमा नयाँ तथा लगाउन मिल्ने पुराना तर सफा कपडाहरु झुण्ड्याएर सुरक्षित तरिकाले राख्ने व्यवस्था मिलाइएको छ । यसका लागि वडा कार्यालयको एउटा कोठा प्रयोग गरिएको छ ।

ज्याकेट, पाइन्ट, कमिज, जुत्ता, चप्पललगायतका महिला, पुरुष तथा बच्चाका कपडा र जाडोका लागि न्यानो कपडासमेत राखिएको छ । चिसो मौसम सुरु भएपछि वडा कार्यालयले कपडा सहयोग गर्न चाहनेहरुलाई अनुरोध गरेको वडाध्यक्ष बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दाताहरुबाट चिसो मौसमका लागि आवश्यक पर्ने न्यानो कपडाहरु प्राप्त भएका छन् । अबको शनिबार कपडा बैंक खोलेर वितरणको व्यवस्था मिलाउने तयारी छ ।’’ पैसाको अभावमा कोही पनि कपडा लगाउनबाट वञ्चित नहुन् भनेर वडाले कपडा बैंक सञ्चालन गरेको र पछिल्लो समय प्रभावकारी भएको उहाँको भनाइ छ ।

गरिब तथा विपन्न वर्गका लागि सहज होस् भनेर वडा कार्यालयले सञ्चालन गरेको कपडा बैंकलाई विभिन्न प्रकारका २० बजार रुपियाँ बराबरका कपडा सहयोग गरेको लायन्स क्लब अफ बेनी सिटीका अध्यक्ष तुलसीनाथ सुवेदीले बताउनुभयो । वडाको यो कार्य उदाहरणीय भएकाले आफूहरुले सहयोग गरेको बताउनुभयो । वडा कार्यालयले सञ्चालन गरेको कपडा बैंकलाई सहयोग गर्न वडा कार्यालयले सबैमा अनुरोध गरेको छ ।