• १६ भदौ २०८१, आइतबार

लसुनमा आत्मनिर्भर

blog

हुम्ला, जेठ १० गते । लसुन उत्पादनमा हुम्ला जिल्ला आत्मनिर्भर भएको छ । आम्दानी धेरै हुन थालेपछि धेरै किसान लसुन खेतीमा आकर्षित हुँदा हुम्ला जिल्ला नै आत्मनिर्भर भएको हो । सिमकोट गाउँपालिका–४ का छिमेल लामाले चार रोपनी जग्गामा लसुन खेती गरेर २५ क्विन्टलभन्दा बढी उत्पादन गरेको बताउनुभयो । 

उहाँले सो लसुन बिक्री गर्दा १० लाख रुपियाँ कमाइ भएको जानकारी दिनुभयो । लसुन प्रतिकेजी चार सय रुपियाँमा बिक्री हुँदै आएको छ । अन्य बालीभन्दा लसुन खेतीमा धेरै नाफा भएको बताउँदै लामाले आफ्नो गाउँभरिका किसान लसुन खेतीमा आकर्षित भएको बताउनुभयो । 

धेरै हुने सिमकोट–८, स्याँडा गाउँमा ८० रोपनीभन्दा बढीमा लसुन खेती गरिएको छ । पाँच रोपनी जग्गामा लसुन खेती गर्नुभएका स्याँडाकै जसमल बुढाले १२ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको बताउनुभयो । दुई वर्ष अघिसम्म नेपालगञ्जबाट महँगो भाडा तिरेर हवाईजहाजबाट ढुवानी गरिएको लसुन सिमकोटमा बिक्री हुने  गरेको थियो । 

दुई वर्षयता भने स्थानीय लसुन नै पर्याप्त पाइने भएकाले नेपालगञ्जबाट ल्याउनु नपरेको तरकारी व्यापारी सुमित्रा थापाले बताउनुभयो । उहाँले यस वर्ष मात्रै ३० क्विन्टलभन्दा बढी स्थानीय लसुन बिक्री गरिसक्नुभएको छ । जिल्लामा उत्पादन हुने लसुनको तथ्याङ्क दिन नसके पनि कृषि विकास कार्यालय लसुनमा आत्मनिर्भर भएको दाबी गर्दै आएको छ । 

यसअघि जिल्लाबाहिरबाट हवाईजहाजमा ल्याउने गरेको लसुन प्रतिकेजी साढे चार सय रुपियाँ पथ्र्यो । अहिले स्थानीय लसुन सस्तो पर्ने गरेको छ । अर्गानिक, सस्तो र ताजा हुने भएको पनि उपभोक्ताले स्थानीय लसुनलाई रुचाउने गरेको छन् ।