काठमाडौं, पुस २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी पाउँदैन भन्नु गैरकानुनी भएको बताउनुभएको छ । कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “कान्ति अस्पतालले चलाएको फार्मेसीमा कुनै पनि औषधी पाइँदैन भन्ने गुनासो सुन्नमा आएको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी पाउँदैन भन्नु गैरकानुनी हो । विपल्पमा के हो त्यो दिन सकिन्छ । विपल्प नभएको स्थिति बनाउन पाइँदैन ।”
अस्पतालमा भएको फार्मेसी राम्रोसँग सञ्चालन गर्न सकियो भने अस्पताललाई नै नाफा हुने उहाँले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “धेरै औषधी राखियो भने धेरै आम्दानी हुन्छ । आम्दानी धेरै हुने उपाय किन अपनाइँदैन । कहाँ समस्या भएको हो । आफैँलाई आम्दानी हुनेमा पनि किन हेलचेक्राई गरिएको हो ।”
सरकारले पुस १ गतेबाट लागु हुने गरी फार्मेसिस्टहरूले औषधी बिक्री गर्दा अनिवार्य पोशाक (ड्रेस) लगाउनपर्ने नियम लागु गरेको मन्त्री पौडेलको भनाइ छ ।
आम नागरिकलाई कम खर्चमा औषधी उपलब्ध गराउन मूल्य समायोजन गर्न समिति गठन गरेको मन्त्री पौडेलको बताउनुभयो ।
“पाटक अस्पताल, धुलिखेल अस्पतालमा जेनेरिक औषधी लागु गर्न सम्भव हुुँदा अन्य अस्पतालमा किन नहुने ? गुणस्तरको पक्षमा समस्या हुन्छ भनिएको छ । त्यसको पनि समाधान होला नि ।” उहाँले भन्नुुभयो ।
मन्त्री पौडेलले सेवाग्राहीको पटेकबाट कम खर्च हुने उपाय अपनाउन सकिने सबै उपाय अपनाउन अस्पतालको व्यवस्थापकसँग आग्रह गर्नुभयो । उहाँले एक्सेलगायतको रिपोर्ट डिजिल बनाउन आग्रह गर्नुभयो ।
अस्पतालप्रति विश्वास भएकाले दिन प्रति दिन बिरामीको भिड बढ्दै गएको बताउनुहुँदै मन्त्री पौडेलले भएका स्रोत साधानमा थप सेवा विस्तार गर्न सकिन्छ भन्ने विषयमा कार्यरत कर्मचारीलाई अनुरोध गर्नुभयो ।
अस्पतालमा जनशक्ति अभाव, भौतिक पूर्वधार पुर्ती गर्न कर्मचारीलाई थप सेवा सुविधा दिन विषयमा सरकारले छलफल गरी रहेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
कान्तिलाई उपचारत्मक सेवा उपलब्ध गराउने अस्पताल मात्रै होइन उपचार गर्ने जनशक्ति उत्पादन गर्ने अस्पतालका रूपमा विकासित गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “बालबच्चाका लागि उपचार गर्ने विशिष्टिकृत क्षमता प्राप्त गर्ने जति पनि शैक्षिक कार्यक्रम छन् ति सबै कान्तिमा चल्नुपर्छ । ति कार्यक्रमहरू चलाउन सकियो भने सेवा सन्तुलन नमिलेको विषय समाधान हुन सक्ने विश्वास छ ।”