• २४ पुस २०८१, बुधबार

'इजोरिया' सार्वजनिक

blog

वृत्तचित्रको लोकार्पण गर्दै शिक्षा तथा संस्कृतिमन्त्री रानीशर्मा तिवारी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, पुस २२ गते । चेतना अभावमा शिक्षाबाट वञ्चित समुदायलाई शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले मैथिली भाषामा निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । विभिन्न स्वास्थ्य शिविर र सहयोगबाट ग्रामीण क्षेत्रका बालबालिकालाई विद्यालयमा भर्ना गराउने, सिकाउने, टिकाउने र विद्यार्थीको स्वास्थ्यमा ध्याउन पुर्‍याउने कार्यहरू वृत्तचित्रमा समेटिएको छ ।

दलित, गरिब विपन्नसहित चेतना अभाव रहेका व्यक्ति, परिवार र समुदायलाई लक्षित गरी बनाइएको इजोरिया वृत्तचित्र समाजमा जनचेतना जगाउने कार्यमा सहयोगी सासवित हुने सहभागीहरूले बताउनु भएको छ । सो वृत्तचित्रको लोकार्पण गर्दै मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले शिक्षामा दीयो बाल्नुको आवश्यकता रहेकोेले प्रदेशको बजेटमा शिक्षामा लगानी बढाउन योजना बनाइरहेको बताउनुभयो । 

वृतचित्रका लेखक एवम् निर्देशक समेत रहनुभएका मधेश प्रदेश सांसद रामअशिष यादवले शिक्षामा कार्य गरेर समाजलाई शिक्षित बनाएर परिवर्तन ल्याउन चाहेको बताउनुभयो । उहाँले दलित र विपन्न परिवार समुदायलाई शिक्षित गर्नु आफ्नो प्राथमिकता रहेको बताउनुभयो । सो वृतचित्रको निर्माण संयोजन डा. निरञ्जन गोइत र भाषा सम्पादन डा. भोगेन्द्र झाले गर्नुभएको सल्लाहकार वरिष्ठ चिकित्सक डा. एसके सिंहले जानकारी दिनुभयो । 

आइतबार साँझ लोकार्पण गरिएको सो वृत्तचित्र अतिपिछडिएका शिक्षा, चेतना अभाव समुदायमा देखाउने योजना रहेको उहाँले बताउनुभयो ।