• २४ पुस २०८१, बुधबार

‘क्यानाडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’

blog

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो

ओटावा, २२ पुस गते । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना रहेको ‘द ग्लोब एन्ड मेल’ पत्रिकाले आइतबार जनाएको छ ।

पार्टीको आन्तरिक मामिलाबारे जानकार तीन अज्ञात स्रोतलाई उद्धृत गर्दै ग्लोबले ट्रुडोको घोषणा छिटोमा सोमबार र ढिलोमा बुधबारसम्ममा आउनसक्ने जनाएको छ ।

ग्लोब स्रोतका अनुसार घोषणा सम्भवतः बुधबार राष्ट्रिय लिबरल पार्टीको बैठकअघि हुनेछ । पार्टीले नयाँ नेतृत्व खोजिरहेको बेला ट्रुडो अन्तरिम हैसियतमा रहने वा नरहने भन्ने स्पष्ट नभएको द ग्लोबले जनाएको छ ।

हालैका महिनाहरूमा ट्रुडोको लोकप्रियता घटेको छ, उहाँको सरकार अविश्वासको मतको शृङ्खलाबाट बचेको छ र आलोचकहरूले उहाँको राजीनामाको माग गरेका छन् ।

उहाँले सन् २०२५ को अक्टोबरमा हुने चुनावमा लिबरललाई मार्गदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ट्रुडोले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको थप दबाबको सामना गर्नुपरेको छ । उहाँले क्यानाडाका सामानहरूमा २५ प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ ।

उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डले ट्रम्पको स्पष्ट योजनालाई कसरी प्रतिक्रिया दिने भन्ने विषयमा ट्रुडोसँग असहमति जनाएपछि डिसेम्बरमा राजीनामा दिनुभएको थियो । सोही महिनाको अन्त्यतिर ट्रुडोले आफ्नो मन्त्रिमण्डलमा ठुलो फेरबदलको घोषणा गर्नुभयो । उहाँले राजनीतिक उथलपुथललाई समाधान गर्न आफ्नो मन्त्रीमण्डलको एक तिहाई सदस्यलाई हेरफेर गर्नुभएको थियो ।

गत नोभेम्बरमा उहाँले ट्रम्पलाई भेट्न फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा जानुभएको थियो । ट्रुडोले सन् २०१५ मा कालो घुँघराले कपाल र आत्मविश्वासी स्वैगरका साथ सत्तामा पुगेका थिए र सन् २०१९ र २०२१ मा लिबरललाई थप दुई वटा मतपेटिकामा जित दिलाएका थिए ।

पछिल्लो जनमत सर्वेक्षणमा ट्रुडो आफ्ना मुख्य प्रतिद्वन्द्वी कन्जरभेटिभ पियरे पोइलिभ्रेभन्दा २० अङ्कले पछि पर्नुभएको छ ।

प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो दुई कार्यकालमा ट्रुडोले सिनेटमा सुधारहरू ल्याउनुभयो भने संयुक्त राज्य अमेरिकासँग नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्नुभयो र क्यानाडाको हरितगृह ग्यास उत्सर्जन कम गर्न कार्बन कर लागु गर्नुभएको थियो ।

तीन सन्तानका पिता रहनुभएका ट्रुडोले भाङलाई कानुनी मान्यता दिनुभएको, बेपत्ता र हत्या गरिएका आदिवासी महिलाहरूको बारेमा सार्वजनिक अनुसन्धान गर्ने नेतृत्व गर्नुभएको र चिकित्सकीय सहायताले आत्महत्या गर्न अनुमति दिने कानुन पारित गर्नुभएको थियो । रासस/एएफपी