• २३ पुस २०८१, मङ्गलबार

पोखरामा पहिलोपटक चलचित्र पर्यटन महोत्सव हुने

blog

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, पुस २२ गते ।
पर्यटकीय राजधानी पोखरामा चलचित्र पर्यटन महोत्सव हुने भएको छ । आगामी फागुन १७ देखि १९ गतेसम्म महोत्सव आयोजना हुने जनाइएको छ ।

महोत्सव चलचित्र विकास बोर्डको मुख्य आयोजनामा हुन लागेको हो । बोर्डका अध्यक्ष दिनेश डिसीले पोखरा महानगरपालिकाका  प्रमुख धनराज आचार्यसँग भेटवार्ता पछि महोत्सवसम्बन्धी प्रारम्भिक र महत्त्वपूर्ण छलफल भएको उल्लेख गर्नुभएको छ ।

पहिलो पटक ठुलो रूपमा आयोजना हुन गइरहेको यस महोत्सवले चलचित्र छायाङ्कनका लागि प्राकृतिक स्टुडियोका रूपमा परिचित पोखरा र गण्डकी प्रदेशलाई व्यापक रूपमा प्रवर्द्धन गरिने जनाइएको छ ।

पोखरा महानगरका प्रमुख आचार्यले कलाकार र स्रष्टाहरुलाई पोखरामा स्वागत गर्दै महोत्सव सफल हुने बताउनुभएको छ । विकास बोर्डको मुख्य आयोजनामा हुने महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतका संस्थाहरू प्रवर्द्धकको रूपमा रहनेछन् ।