• २३ पुस २०८१, मङ्गलबार

सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

blog

काठमाडौँ,  पुस २१ गते । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ ।  जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेश प्रदेशको पूर्वी भूभागमा साधारणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ । आज दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया मौसम बदलीदेखि सामान्य वर्षा हुनेछ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

 “तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना छ”, उहाँले भन्नुभयो, “बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।”

पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

काठमाडौँको न्यूनतम तापक्रम बढ्यो

शनिबारको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम केही वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम  सात दशमलव दुई डिग्री सेल्सियस मापन भएको छ । शनिबार पाँच दशमलव नौ डिग्री सेल्सियस मापन भएको थियो । राति काठमाडौँको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । न्यूनतम तापक्रम बढेकाले काठमाडौँमा आज तुलनात्मक रूपमा बिहान कम चिसो महसुस भएको छ । गत मङ्सिर २९ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो । रासस