• २३ पुस २०८१, मङ्गलबार

लोकतन्त्रको असल अभ्यास

blog

लोकतन्त्रको आधारशिला कानुनी शासन हो र यसका लागि स्वतन्त्र र निष्पक्ष न्यायपालिका अनिवार्य छ भन्ने प्रमाणित भइसकेको छ । नियन्त्रण र सन्तुलनको राजनीतिक सिद्धान्त तथा संवैधानिक सर्वोच्चताको कानुनी सिद्धान्तको सम्मिश्रणमा आधारित भई कानुनको पालना र प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने अवस्थालाई राज्यका सबै निकायले आत्मसात् गर्नु आवश्यक छ ।

न्यायिक निकायबाट फैसला भएका मुद्दामा विगत ५० वर्षको इतिहास हेर्दा हालसम्म एक लाखभन्दा बढी दोषी व्यक्ति फरारको सूचीमा रहेको तथ्याङ्क देखिन्छ । ती व्यक्तिसमेतबाट भुक्तान हुन बाँकी कैद, जरिबाना र क्षतिपूर्तिको रकम जम्मा गर्दा ठुलो परिमाणमा फैसला कार्यान्वयन बाँकी रहनु कानुन कार्यान्वयनको दृष्टिबाट डरलाग्दो देखिन्छ । दण्डहीनताको अन्त्य र लोकतान्त्रिक व्यवस्थाका बहुआयाममा यसले गम्भीर प्रश्न खडा गरेको छ । कानुनी शासनको प्रभावकारिताका लागि स्वेच्छाचारी प्रवृत्ति नियन्त्रण पहिलो सर्त हो, जसमा कानुनको समान प्रयोग र पालना अनिवार्य हुन्छ । फैसला हुनुअघि र पछिको दुवै चरणमा प्रदर्शन हुने प्रभावकारिताले नै सामाजिक न्याय वितरण लक्षित उद्देश्यमुखी हुन सक्छ । 

कानुनी शासनको वर्तमान अवस्था

एउटै मुद्दामा दशकौँ वर्ष अदालत धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै चुस्त न्यायिक प्रणाली विकास गर्न मात्रै हाम्रो योजना प्रणालीले जोड दिएको छैन । अपितु, राज्यका सबै निकायको प्रतिफलपूर्ण प्रयोगबाट न्यायको वितरण एवं विशेष र कमजोर अवस्थामा रहेका वर्ग र क्षेत्रको प्राथमिकीकरणका माध्यमबाट पुनर्वितरणकारी न्यायको सुनिश्चितताका लागि समेत नेपालको संविधानले जोड दिएको छ । यस संवैधानिक तथा योजनागत व्यवस्थालाई व्यवहारमा उतार्न घनीभूत र सार्थक प्रयास हुनु आवश्यक छ । यसबाट मात्रै कानुनी शासनको समग्र अवस्थामा सुधार आई समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन सोचको दिगो कार्यान्वयन सम्भव देखिन्छ ।

वल्र्ड जस्टिस प्रोजेक्टले पछिल्लो पटक सन् २०२३ मा सार्वजनिक गरेको कानुनी शासनको सूचकाङ्क हेर्दा नेपाल ७१ औँ स्थानमा समावेश भएको देखिन्छ । विश्वका १४२ देशका कानुनी शासनका विभिन्न मानकको मूल्याङ्कन गरी सार्वजनिक गरिएको यस सूचकाङ्क अनुसार खुला सरकार, स्वतन्त्र न्यायालय, मौलिक अधिकार तथा सुरक्षा नियमन प्रयोग, भ्रष्टाचार नियन्त्रण, राज्यभित्र विद्यमान राजनीतिक संस्कृति, अधिकार र दायित्वको प्रयोग जस्ता विषयमा नेपालको अवस्था कमजोर देखिन्छ । राज्यका निकायको जिम्मेवार भूमिकामा रहने पदाधिकारीको भूमिका, गलत कार्य गर्नेहरू दण्डित हुने अवस्था र कानुनी प्रयोगको समानताको स्तर हेर्दा यो अवस्था सिर्जना गर्न कुनै एक तहका व्यक्ति मात्रै जिम्मेवार देखिँदैनन् । बरु समाजका विभिन्न तह र तप्कामा नेता, कर्मचारी, न्यायकर्मी, नागरिक समाज र स्वयम् नागरिकको भूमिका समेत कानुनी शासनको सबलीकरणका लागि अझ बढी जिम्मेवार हुनुपर्ने 

अवस्था छ ।

चालु सोह्रौँ योजनाले विधिको शासनको सूचकाङ्क ०∙५२ बाट ०∙८० पु¥याउने लक्ष्य लिएको पाइन्छ । सुशासन र सदाचार प्रवर्धनमा महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रभावकारिता अभिवृद्धि तथा संवैधानिक आयोगका प्रतिवेदनसमेतले दिएका सुझावको कार्यान्वयनको अनुगमन र पालना हुन सकेको देखिँदैन । सर्वोच्च अदालतमा मात्रै हाल २५ हजार बढी मुद्दा विचाराधीन छन् । न्यायालय तथा संवैधानिक निकायबाट भएका निर्णय कार्यान्वयनको अवस्थाले न्याय प्राप्तिका सारभूत र कार्यविधिगत प्रभावकारितामा सुधारका ढोका खोल्न सहयोग पुग्ने हुन्छ । उल्लिखित अवस्थाबाट कानुनको पालना र कार्यान्वयनमा देखिएका सुधारको कमजोर अवस्थालाई नै प्रतिनिधित्व गर्छ । राज्यका निकायप्रति जनविश्वास कमजोर हुँदा समग्र शासकीय प्रणालीप्रति नै वितृष्णा पैदा हुने स्थिति सिर्जना हुन सक्छ । राज्यका कार्यकारी निकायप्रतिको अविश्वासले सामान्य कुरामा पनि न्यायालयप्रति झुकाव देखिने अवस्था पनि रहन्छ । जुन अवस्थालाई रोक्न नेपालले रणनीतिगत र कार्यनीतिगत हस्तक्षेप अवलम्बन गर्नुपर्ने अवस्था छ ।

न्याय निरूपणमा उठेका प्रश्न

विधिको शासनलाई प्रजातन्त्रको सूत्रपात भएदेखि नै नेपालको शासकीय आयामको मेरुदण्डका रूपमा स्वीकार गर्न थालिएको हो । आधुनिक रूपमा शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको पालना तथा संविधानवादमा आधारित मूल्य मान्यताको अवलम्बन गर्दै समानता र स्वतन्त्रताको औपचारिक बीजारोपण पनि राणा शासनको पतनसँगै भएको हो । विशेष गरी प्रधान न्यायालय ऐन, २००८ जारी भएसँगै न्यायपालिकालाई कार्यपालिकाको प्रभावबाट मुक्त गराई सुधारात्मक न्यायलाई जोड दिने औपचारिक प्रयासले सार्थकता पाएको देखिन्छ । हुन त राणाकालमै विसं १९९७ साउन १ गते प्रधानमन्त्री जुद्धशमशेरले एक सनद जारी गरी नेपालमा प्रधानन्यायालय स्थापना गरेका थिए । सो सनदबमोजिम न्यायाधीश जनरलको निर्वाचनमार्फत बहादुरशमशेर जबरा न्यायाधीश जनरल पदमा निर्वाचित भएको पाइन्छ । प्रजातन्त्र स्थापना हुनुअघि राज्यका सबै अङ्गमा राणाको एकछत्र प्रभाव रहेको अवस्थाबाट न्यायालय पनि त्यसबाट अछुतो रहने कुरा थिएन । यसरी शक्ति पृथकीकरणको अभ्याससँगै स्वतन्त्र न्यायालय प्रारम्भ भएकाले यसबाट प्रजातन्त्र र मानव अधिकारको जग सुदृढीकरणमा नेपालले लामो अवधि पार गरेको पाइन्छ ।

सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने पद्धतिलाई वर्तमान संविधान प्रारम्भ भएपछि अङ्गीकार गरिएको छ । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायको सुनिश्चितताका लागि सर्वोच्च अदालतसहितका तीन तहको एकीकृत न्यायपालिकाको व्यवस्था संविधानले गरेको छ । नागरिक अधिकारको रक्षा, व्यक्तिगत स्वतन्त्रताको अभ्यास र कानुनको समान प्रयोग तथा पालनाको अवस्थालाई पहुँचयोग्य, सर्वसुलभ र अनुभूतिगम्य बनाउन भने थुप्रै कार्य गर्न बाँकी छ । यसको सुनिश्चितता नगरी लोकतन्त्रका किरण नागरिकले अनुभूति गर्न नसक्ने हुँदा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायप्रणालीको अवलम्बन गरी कानुनी राज्य र सामाजिक न्याय जस्ता लोकतन्त्रका आधारभूत मान्यताको सुदृढीकरण गर्न हाम्रो ध्यान जानु जरुरी छ । 

विगतको दलविहीन व्यवस्था होस् वा खुला शासन व्यवस्थाभित्रै भएका नागरिक स्वतन्त्रता हननको अवस्था । नागरिक हित र अधिकार रक्षाका लागि न्यायालयले खेलेको भूमिका स्वर्णाक्षर लेखिँदै आएको छ । न्यायालयको यस्तो भूमिकालाई कुण्ठित गर्न अनेक प्रयास पनि नभएका होइनन् । लोकतन्त्रविरुद्ध हमला हुँदासमेत न्यायालयले रिटकै माध्यमबाट विगतदेखि नागरिक अधिकार बहालीमा प्रत्यक्ष योगदान पु¥याउँदै आयो । प्रधान न्यायालय ऐन, २००८ को दफा ३० ले पहिलो पटक प्रधान न्यायालयलाई रिट जारी गर्ने अधिकार प्रदान गरेको थियो । न्यायालयको यही असाधारण अधिकारलाई नागरिकको मौलिक हक प्रचलनसमेतको उद्देश्यले आजसम्म उच्च स्थान प्राप्त हुँदै आएको छ । हाल बन्दी प्रत्यक्षीकरणको रिटको क्षेत्राधिकार जिल्ला तहसम्म रहने र सर्वोच्च अदालतसँगै उच्च अदालतबाट समेत रिट जारी हुन सक्ने सुनिश्चितता नेपालको संविधानले गरेको छ । 

लोकतान्त्रिक व्यवस्थाका लागि भएका आन्दोलन होस् वा सामाजिक न्यायका लागि भएका अनेक सङ्घर्ष होऊन्, नागरिकको अन्तिम भरोसाको विन्दु स्वतन्त्र न्यायालय नै रहँदै आएको छ । यसको सुदृढीकरणबिना लोकतन्त्रको अभीष्ट र सामाजिक न्यायको ढोका फराकिलो नहुने हुँदा कानुनको प्रयोग र पालनामा देखिएका अनेक अप्ठ्याराको निराकरण गर्दै कानुनको सम्मान र न्यायालयमाथिको जनआस्था अभिवृद्धिमा सबैको योगदान अभिवृद्धि गर्न हातेमालो हुनु आवश्यक देखिएको छ । 

बेला बेलामा न्यायालयभित्रै स्वतन्त्र र सक्षम न्याय निरूपणका क्षेत्रमा अनेक प्रश्न खडा हुँदै आएको छ । न्यायिक निष्पक्षताको सुनिश्चिततामा न्यायकर्मी र न्यायिक नेतृत्व नै आँखा चिम्लिने गरेको आरोप विगतमा पनि खेप्नु नपरेको होइन । आज पनि न्यायाधीश नियुक्तिदेखि न्यायिक कार्यसम्पादनसम्ममा नागरिकका थुप्रै प्रश्न थाती नै देखिन्छ । कार्यपालिकामा रहेका व्यक्तिको प्रभाव न्यायिक जनशक्ति छनोट र तिनको कार्यसम्पादनमा पर्न सक्ने चिन्ता न्यूनीकरण गर्न संवैधानिक परिषद् र न्याय परिषद् जस्ता निकायले निश्चित मापदण्ड विकास गर्नुपर्ने आवश्यकतामा जोड दिइँदै आएको छ । यी निकायको पुनर्संरचनालाई संविधान संशोधनका महìवपूर्ण प्रस्थानविन्दुका रूपमा अथ्र्याउनुपर्ने विचारसमेत प्रकट भइरहेको देखिन्छ । विभिन्न तहका न्यायाधीशको नियुक्ति समयमै गर्ने र उच्च तथा सर्वोच्च अदालतका न्यायाधीशका प्रत्याशीको योग्यता परीक्षण गर्ने मापदण्डको परिपक्वता विकास र यस्ता मूल्यप्रतिको मतैक्यसहितको समाधान हामीहकाँ प्राप्त हुन सकेको छैन । यस्तो अवस्थाले संवैधानिक जिम्मेवारी निष्पक्ष र प्रभावकारी रूपमा बहन गर्न एकातिर पर्यावरणीय वातावरण तयार हुन सकेको छैन भने स्वयम् न्यायपालिकालाई कानुनी शासनको बागडोर प्रभावशाली बनाउने गरी आडभरोसा प्राप्त हुन सकेको देखिँदैन । 

सक्षम लोकतन्त्रको मार्ग

समृद्धि र मानव अधिकारका लागि लोकतन्त्रको विकल्प सक्षम लोकतन्त्र मात्रै हो भन्नेमा कमै विमति होला । लोकतन्त्रको आधारशिला कानुनी शासन हो र यसका लागि स्वतन्त्र र निष्पक्ष न्यायपालिका अनिवार्य छ भन्ने प्रमाणित भइसकेको छ । नियन्त्रण र सन्तुलनको राजनीतिक सिद्धान्त तथा संवैधानिक सर्वोच्चताको कानुनी सिद्धान्तको सम्मिश्रणमा आधारित भई कानुनको पालना र प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने अवस्थालाई राज्यका सबै निकायले आत्मसात् गर्नु आवश्यक छ । कानुनी शासन र संविधानवादको संवर्धनका लागि भएका कानुनको पालनामा सुदृढीकरणको प्रत्याभूति गराउन शासकीय साझेदारको ऐक्यबद्धता अनिवार्य छ । 

ढिलो न्याय पाउनु न्याय नपाएसरह हो भन्ने विधिशास्त्रीय मान्यतालाई व्यवहारमा आत्मसात् गर्दै सक्षम, सुदृढ र परिणाममुखी राज्य प्रणाली स्थापना गर्नु आवश्यक मात्र होइन, अनिवार्य छ । स्वतन्त्र न्यायपालिका लोकतन्त्रको सर्वोच्च आसन भएकाले यसको ओज अभिवृद्धिमा स्वयम् न्यायपालिका मात्र होइन, सामाजिक न्याय वितरण गर्ने सबै निकाय सक्षम, कामयाबी र प्रभावकारी बन्नु अनिवार्य हुन्छ । कानुन बनाउने निकाय गैरविधायिकी कार्यमा केन्द्रित नभई मौलिक र आवश्यकतामा आधारित कानुन निर्माणमा सक्षमता प्रदर्शन गर्ने, नियामकीय भूमिका निर्वाह गर्नुपर्ने निकाय आवेगहीन र पूर्वाग्रहरहित भएर सुदृढ कार्यसम्पादन गर्ने तथा कार्यकारी अङ्गले समन्वयपूर्ण ढङ्गले नतिजा दिई सामाजिक न्याय वितरणमा हातेमालो गर्नु पर्छ । नागरिक समाज दलीय, गैरदलीय वा बाह्यप्रभाव भन्दा सीमान्तीकृत नागरिक, देश र जनताप्रति झुक्ने पद्धति विकास गरी कानुनी शासनप्रति खबरदारी गर्दै सशक्त भूमिका निर्वाह गर्नप्रति केन्द्रित हुनु आवश्यक छ । यसले नै लोकतन्त्रको वितरण र सङ्घीय प्रणालीको सशक्तीकरण सम्भव छ । 

निष्कर्ष

लोकतन्त्रको अभ्यासबाट समृद्धि र सुख प्राप्त गर्ने नेपालको कार्यभारमा रहेका अनेक चुनौती सामना गर्न राष्ट्रिय मुद्दामा सहकार्य, स्थानीय निकायको सक्षमता अभिवृद्धि र सङ्घीय एकाइबिच सहकार्य र सहकारिता महìवपूर्ण छ । सुशासन र सदाचारको कार्यभारले समाजका सबै निकायको उत्तरदायित्व र जवाफदेहितालाई कानुनी शासनको बृहत् लाभको सुनिश्चिततासँग जोडेको हुन्छ । कानुन निर्माण, व्याख्या र कार्यान्वयनको प्रत्याभूतिका लागि राज्यका अङ्गले आफ्नो प्रभावकारिता यिनै लक्ष्यमा केन्द्रित गरी सुशासन र सामाजिक न्यायको प्रवर्तनलाई संवर्धन गर्नु आजको आवश्यकता हो । 

Author

ठाकुरप्रसाद बस्ताकोटी