• २३ पुस २०८१, मङ्गलबार

एपिएफको जितमा रश्मिको ह्याट्रिक

blog

काठमाडौँ, पुस २१ गते । रश्मिकुमारी घिसिङको ह्याट्रिकको सहयोगमा नेपाल एपिएफ क्लबले शनिबार बागमती युवा क्लबलाई ५–१ ले हराएर एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा पहिलो जित हात पारेको छ । बागमतीको यो लगातार दोस्रो हार भएको छ । यसअघि बागमती उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा गीता राना र अनिता केसीले पनि गोल गर्नुभयो । बागमतीका लागि पुष्पाकुमारी खड्काले गरेको गोल सान्त्वना मात्र बन्यो । रश्मिकुमारीले खेलको १२ मिनेट बित्दा दुई गोल गरिसक्नुभएको थियो । खेलको ५९ औँ मिनेटमा रश्मिकुमारीले आफ्नो ह्याट्रिक पूरा गर्नुभयो । पहिलो चरणमा सर्वाधिक गोलकर्ता रश्मिकुमारी खेल सकिएपछि ‘प्ले अफर अफ दी म्याच’ घोषित हुनुभयो । 

पहिलो चरणमा एपिएफले बागमतीलाई ७–० ले हराउँदा पनि रश्मिकुमारी एक्लैले पाँच गोल गर्नुभएको थियो । यसबिच खेलको १७ औँ मिनेटमा पुष्पाले गोल गरी स्कोर २–१ पार्नुभएको हो । एपिएफका डिफेन्डर र गोलरक्षकबिच तालमेल हुन नसकेको फाइदा उठाउँदै पुष्पाले गोल गर्नुभएको हो । यद्यपि खेलको २७ औँ मिनेटमा गीताले गोल गरेपछि एपिएफले १० मिनेटपछि नै पुनः अग्रता दोब्बर बनाएको थियो । एपिएफका लागि पाँचौँ तथा अन्तिम गोल अनिताले ७० औँ मिनेटमा गर्नुभयो ।