निशा राई
धरान, पुस २० गते । पुलिस स्कुलले लगातार चौथो पटक ललित अम्बर डिपो कपको उपाधी चुमेको छ । डिपो स्कुलको आयोजनामा पुस १२ गतेदेखि सुरु भएको १९ औँ ललित अम्बर डिपो कपको फाइनलमा आयोजक डिपो स्कुललाई टाइब्रेकरमा पराजित गर्दै लगातार चौथो पटक पुलिस स्कुलले उपाधीमाथि कब्जा जमाएका हुन् ।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा दुवैतर्फ कुनै गोल हुन् नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–२ गोल अन्तरले डिपोलाई पराजित गर्दै पुलिस स्कुलले चौथो पटक उपाधीमाथि आफ्नो कब्जा जमाएको हो । टाइब्रेकरमा पुलिस स्कुलका बिनायक निरौला, मनिकुमार लिम्बू, अङ्सु बास्फोर र नियुस खड्काले गोल गर्नुभएको थियो । यसैगरी डिपो स्कुलका कुशल राई र करन खड्काले मात्र गोल गर्न सक्नुभयो ।
प्रतियोगिताका बिजेताले नगद ११ हजार १११ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेताले डिपो स्कुलले नगद सात हजार १११ र तेस्रो उपाधी बिजेता इमानुयलले पाँच हजार १११ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरी, दिलबहादुर प्लेट च्याम्पियनका उपाधी बिजेता जोलसाय स्कुलले नगद तीन हजार र उपबिजेता आयोजक डिपो स्कुल पहेलो टिमले नगद दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । डिपो कपको तेस्रो उपाधी र प्लेट च्याम्पियनको उपाधिको खेल फाइनल खेलको आघिल्लो दिन भएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी डिपो स्कुलका कृशल राई, म्यान अफ द म्याच डिपो स्कुलका कुशल राई, राइजिङ प्लेयर डिपो स्कुलका इसाक लावती, उत्कृष्ट गोलकिपर पुलिस स्कुलका ओमकुमार सिंह र हाइ स्कोरर इमानुयल स्कुलका सौगात श्रेष्ठ घोषित हुनुुभयो । उहाँहरूले ट्रफी, प्रमाणपत्र प्राप्त गर्नुभयो ।
विजेता उपविजेतालाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्या. अम्बरबहादुर लिम्बू, प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र बिक्रम बेघा, प्रतियोगिता संयोजक दिपबहादुर राई, सुनसरी फुटबल सङ्घका अध्यक्ष नवीन राई, व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक लिम्बू, प्राचार्य राजकुमार राई लगायतले पुरस्कार वितरण गर्नुभएको थिायोे ।