• २२ पुस २०८१, सोमबार

एक दिनमै सरर सगरमाथा

blog

काठमाडौँनजिकका नगरकोट र चन्द्रागिरि उक्लिएर सगरमाथाको अवलोकन गर्न सकिन्छ । तथापि नाङ्गो आँखाले चुचुराको पहिचान गर्न मुस्किल हुन्छ । ती ठाउँबाट सगरमाथा अवलोकनका लागि दूरबिनको मद्दत लिनुपर्ने हुन्छ । दूरबिनबिना नजिकैबाट सगरमाथा अवलोकन गर्ने हो भने काठमाडौँबाट नजिकैको स्थल पत्ताले पुग्नु पर्छ । किनभने पत्तालेसम्म सडकको सहज सुविधा छ । काठमाडौँदेखि पत्तालेसम्म कालोपत्रे सडक हुँदै जान सकिन्छ । एक दिनमै सगरमाथाको अवलोकन गरेर काठमाडौँ आइपुग्न सकिन्छ, करिब १४ देखि १६ घण्टा बस वा जिपमा यात्रा गरेर ।

यात्रा भनेपछि सुरुमै खर्चको कुरा हुन्छ । खर्चले पुग्ने भयो भने मात्र बल्ल बाटो सोधिन्छ । त्यसैले खर्चको कुरा गरौँ । काठमाडौँबाट पत्ताले एकोहोरो गाडीभाडा एक हजार छ सय रुपियाँ लाग्छ । यो जिपको भाडादर हो । बसमा यात्रा गर्दा अझ सस्तो हुन्छ । आउनजान गाडीको समस्या हुँदैन । पत्ताले क्षेत्रमा खाना र खाजा पनि धेरै महँगो छैन । बास बस्न होटेलको सुविधा पनि छ । होटेलमा एक रात बस्नका लागि करिब एक हजार भए तपाईंको खर्च पुग्ने छ । त्यसैले त्यही अनुसार योजना बनाउँदा उत्तम हुने छ ।

काठमाडौँ उपत्यकाबाट बनेपा–धुलिखेल हुँदै बिपी राजमार्गको यात्रा तय गरी पत्ताले पुग्न सकिन्छ । कोटेश्वरबाट यात्रा गर्दा भक्तपुर हुँदै बिपी राजमार्ग भएर पूर्वतिर हुइँकिनु पर्छ । निजी साधन छैन भने पनि सिधै जाने बस र जिपहरू पाइन्छ । आफ्नै साधन भए त समस्या नै भएन । कोटेश्वरबाट १८ किलोमिटर यात्रा गरेपछि साँगा पुगिन्छ । आफ्नै साधन छ भने प्रतिघण्टा औसत ३० किलोमिटरको गतिमा यात्रा गर्दै हुनुहुन्छ भने तपाईं साढे आठ घण्टामा गन्तव्य पुग्नुहुन्छ । यात्रा पत्तालेको हो त्यसैले साँगाबाट करिब २७ किलोमिटरको दुरीमा भकुन्डेबेँसी पुग्न सकिन्छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको भकुन्डेबेँसी सानो उपत्यकाका रूपमा भर्खरै विकास हुँदै गरेको सहर हो । त्यहाँ चिया नास्ताका लागि उपयुक्त हुन सक्छ । तपाईं सोलुखुम्बु जाने सार्वजनिक बस वा जिपमा जाँदै हुनुहुन्छ भने त्यहीँ नै नास्ताका लागि बस रोक्ने ठाउँ हो । भकुन्डेबेँसीबाट करिब २९ किलोमिटर यात्रा गरेपछि सिन्धुलीको नेपालथोक पुगिन्छ । फूलचोकीबाट पूर्व बग्ने रोसीखोलाको दोभान क्षेत्र हो, नेपालथोक । यहाँ पुगेर सुनकोशीमा रोसी मिसिन्छ । नेपालथोकको बजारमा पनि खाना र खाजाको सुविधा छ । नेपालथोकबाट बिपी राजमार्ग हुँदै पूर्व जाँदा ३५ किलोमिटरमा खुर्कोट बजार भेटिन्छ । त्यो खानाका लागि उपयुक्त स्थान हो । किनभने तपाईंले कोटेश्वरबाट यात्रा गरेको ३ घण्टाभन्दा बढी समय बितिसकेको हुनसक्छ ।

सरकारले मध्यपहाडमा विकास गर्दै गरेका १२ सहरमध्ये खुर्कोट पनि एउटा हो । यहाँबाट रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप र हालको सदरमुकाम मन्थली जाने ‘जक्सन’ यहीँ हो । खुर्कोटमा खाना खाएपछि अझै पुग्नुपर्ने गन्तव्य १२२ किलोमिटर टाढा छ । त्यसैले समयको ख्याल गर्नु पर्छ । खुर्कोटबाट करिब ६१ किलोमिटर दुरी पार गरेपछि घुर्मी बजार पुगिन्छ । घुर्मीबाट उकालो यात्रा सुरु हुने छ । त्यसपछि चिसो हुने भएको हुँदा तपाईंले बाक्लो कपडा लगाउँदा राम्रो हुने छ । तपार्इं बाइकमा यात्रा गर्दै हुनुहुन्छ भने ज्याकेट लगाउन सक्नुहुन्छ । करिब ४३ किलोमिटरको पहाडी उकालीओरालो यात्रापछि तपाईं ओखलढुङ्गा बजार पुग्नुहुन्छ । जुन युगकवि सिद्धिचरण श्रेष्ठको जन्मस्थान पनि हो । बिपी हाइवेको बाटो समातेर बिहानीपखको कमलो घामसित लुकामारी गर्दै, वरिपरिको क्षितिज नियाल्दै काभ्रे र सिन्धुलीतिर छिचोलेर ओखलढुङ्गा पुगिसकेपछि अब तपाईंको गन्तव्य अर्थात् पत्तालेडाँडा धेरै टाढा छैन । अब २८ किलोमिटरको यात्रा मात्र बाँकी छ । त्यसपछि तपाईंले चाहेको दृश्य हेर्न र तपाइसँग भएको क्यामरामा तस्बिर कैद गर्न सक्नुहुन्छ । नजिकै भएको हुँदा मोबाइलमै पनि सगरमाथाको फोटो कैद गर्न सक्नुहुन्छ । पृष्ठभूमिमा सगरमाथालाई राखेर आफ्नै फोटो खिच्न सक्नुहुन्छ । सगरमाथा हेर्ने रहर पूरा भएपछि तपार्इंले आफ्ना साथीभाइलाई सामाजिक सञ्जालबाट पनि जानकारी गराउन सक्नुहुन्छ । त्यहाँ वाइफाईको सुविधा छ भने मोबाइलबाट आफैँ डाटा प्रयोग गरेर पनि इन्टरनेट चलाउन सक्नुहुन्छ । त्यसैले तपाईंले सोचेजस्तै यात्रा सरल र सहज हुने छ ।

समुद्री सतहबाट तीन हजार एक सय मिटरको उचाइमा रहेको एउटा पहाडी टापु नै पत्तालेडाँडा हो । जहाँबाट हिमालहरू धित मरुन्जेल नियाल्न पाइन्छ । पत्ताले चुरे शृङ्खलापछिको अग्लो पहाड हो । त्यहाँ रहेको सुन्दर हिमाली बस्ती अनि पत्तालेको प्राकृतिक सुन्दरता आफैँमा निकै अनुपम छ । मनोरम हिमालका दृश्यावलोकनका लागि यो उपयुक्त डाँडा हो । यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से, नुम्बुर, कार्यालुङ, पुमोरी, थामसेर्कुलगायतका सुन्दर हिमाललाई नजिकबाट नियाल्ने पत्ताले एक मात्र निर्विकल्प स्थान हो । त्यसैले पछिल्लो समय नेपालीको मात्रै नभएर विदेशीको पनि रोजाइमा परेको छ ।

धार्मिक, सांस्कृतिक हिसाबले पनि पत्ताले महत्वपूर्ण छ । आदिवासी शेर्पा र मगर समुदायको मुख्य बसोबास रहेको पत्तालेमा गृष्म र शरद् ऋतुमा पर्यटक घुम्न जाने गरेका छन् । यहाँका स्थानीयको संस्कृति, हिमाली परिकार अनि स्थानीयको आत्मीय आतिथ्य, सत्कार पर्यटक लोभ्याउने कडी बनेका छन् । पछिल्लो समय यहाँ खुलेका करिब एक दर्जनजति होमस्टेमा विदेशी पर्यटक रमेर बस्ने गरेका छन् । सिजनबाहेक अन्य ऋतुमा पनि ओखलढुङ्गा र सोलुखुम्बु सदरमुकामबाट आन्तरिक पर्यटक आउने गरेका छन् । पत्ताले सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट ३१ किलोमिटर दुरीमा पर्छ । पत्ताले गाउँनजिकै चर्चित धार्मिक स्थल चाङ्गेथान पनि छ । यहाँ जनैपूर्णिमाका दिन ठुलो मेला लाग्ने गर्छ । चाङ्गेथान मन्दिर र गौरीटाप मन्दिरले गर्दा धार्मिक पर्यटकको सङ्ख्या बढेको हो ।

पत्तालेबाट हिमाल र बेँसी दुवै नजिकबाट देख्न सकिन्छ । पत्तालेडाँडाबाट हिमाली भेगका अतिरिक्त सोलु, ओखलढुङ्गा र खोटाङका बेँसी पनि नियाल्न पाइन्छ । पदयात्रा, हिमदृश्यावलोकन र अन्तरसंस्कृति आदानप्रदानका लागि पत्ताले गतिलो पर्यटकीय केन्द्र बन्दै गएको छ । पत्ताले सडकमार्ग हुँदै सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाका पनि हो । त्यहाँ जाँदा घुम्ती बाटो र लेकाली चौरहरूमा दिनभरि रमाउन मन लाग्छ । पत्तालेमा हिजोआज विदेशीसँगै आन्तरिक पर्यटक आउने गर्छन् । कम्तीमा एक रात पत्तालेमा बिताउने गरी समय मिल्यो भने बिहानीको उषालालीले स्पर्श गर्दा देखिने लजालु सगरमाथाको तस्बिर पनि कैद गर्न पाउनु हुनेछ । एकै रातमा सयौँ पर्यटक अटाउन सक्ने मध्यमस्तरीय होटेल खुलेका छन् । बस्न र खान समस्या छैन । पत्ताले पुगिसकेपछि तपाईंका लागि नयाँ स्वाद पनि हुन सक्छ । त्यहाँ आलुको ढिँडो,  कोदोको ढिँडो, नुनको चिया, टिमुरको अचार, लोकल कुखुराको मासु र स्याउको लोकल रक्सी खान पाइन्छ ।

पत्तालेसम्मको गन्तव्यले प्राकृतिक सुन्दरता, मनोरम दृश्य र त्यस क्षेत्रको वातावरणीय अनुभवको मिश्रणले तपाईंका सम्झना दिगो बनाई छोड्छ । अन्ततः उत्कृष्ट यात्राले तपार्इंलाई स्वर्गीय आनन्द दिलाउने छ । फर्किने गरी तपाईं पर्यटकका रूपमा पत्ताले पुग्नुभएको हो तर त्यहाँको सम्झनाले तपाईंको मनमा अवश्य स्थायी घर बनाउने छ ।  

Author

विवश कुलुङ