• १९ असार २०८१, बुधबार

सबै जनप्रतिनिधिद्वारा पदबहाली गरी आफ्नो कार्यभार ग्रहण

blog

नवनिर्वाचित प्रमुख उपेन्द्रकुमार पोख्रेललाई सोमबार पदबहालीका क्रममा कर्मचारीहरु स्वागत गर्दै । तस्बिर - बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, जेठ ९ गते । सिन्धुली जिल्लामा स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा  निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो कार्यभार ग्रहण गर्नुभएको छ ।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा पालिकाका प्रमुख तथा उपप्रमुखले सोमबार एक समारोहबीच पदबहाली गरी कार्यभार सम्हाल्नुभएको छ । बाँकी दुई पालिका दुधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले शपथग्रहण गरेकै दिन शुक्रबार पदबहाली गरी कार्यभार सम्हाल्नुभएको छ ।

कमलमाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले आफ्नो कार्यभार सम्हाल्नु हुँदै कमलामाई नगरपालिकालाई सबै मिलेर सुन्दर र समुन्नत बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले म र मेरो लागि धेरै ग¥यौँ, अब हामी र हाम्रो भनेर सबैले साथ सहयोग गरेर यो नगरलाई समुन्नत बनाउन लाग्न हार्दिक अनुरोध गर्न चाहन्छु ।’

यसअघिको स्थानीय सरकारले गरेको राम्रा कामलाई निरन्तरता दिँदै अझ जनमुखी कार्यक्रम ल्याउने उहाँको भनाइ थियो । सो अवसरमा मेयर पोख्रेलले उपप्रमुख मञ्जु देवकोटालाई पद तथा गोपनीयताको शपथग्रहण गराई पदबहाली गराउनुभएको छ ।

बाँकी तीनपाटन, फिक्कल, गोलन्जोर, सुनकोसी, घ्याङलेख, मरिण गाँउपालिकामा निर्वाचित प्रमुख तथा उपप्रमुखले पनि सोमबार नै पदबहाली गरी आफ्नो कार्यभार सम्हाल्नुभएको छ । घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले कृषि, रोजगारी, स्वास्थ्य, शिक्षाको कार्यक्रम गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

सिन्धुलीको नौ वटा स्थानीय तहमध्ये सात वटा पालिका सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले जित निकालेको छ । नेकपा (एमाले)ले दुई वटा पालिका जित्न सफल भएको छ । सत्तारुढ गठबन्ध कमलामाई नगरपालिका, दुधौली नगरपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा जित निकाल्न सफल भएको छ ।

त्यस्तै, नेकपा एमालेले सत्तारुढ गठबन्धनका उमेद्वारलाई पराजित गरी फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकामा जित निकालेको छ । जिल्लाको ७९ वडामध्ये सबैभन्दा बढी वडामा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवारले जित हात पारेका छन् । नेपाली कांग्रेसले ३० वटा, नेकपा माओवादी केन्द्रले २६ वटा र नेकपा एमालेले २३ वडा जित्न सफल भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।