• २ असार २०८१, आइतबार

अस्पतालको बेवास्ताका कारण विना पोस्टमार्टम शव चिहानघाटमा

blog

दाससंस्कारका लागि आफन्तलाई बुझाइएको शव खाल्डोमाथि आफन्तद्धारा तस्विर– प्रेमराज सिम्खडा

प्रेमराज सिंखडा

कालीकोट, जेठ ९ गते । शंकास्पद रूपमा मृत्यु भएका रास्कोट नगरपालिका ८ का ४४ वर्षीय प्रेम दर्जीको शव विना पोष्टमार्टम चिहानघाटमा पुगेपछि तनाव बढेको छ । पोष्टमार्टम गर्ने भनी रास्कोट सामुदायिक अस्पतालमा दुई दिनसम्म राखिए पनि पोष्टमार्टम नगरिएको भेटिएपछि दाहसंस्कारमा किचलो थपिएको हो ।

आक्रोशित आफन्त तथा मलामीहरूले विना पोष्टमार्टम दाहसंस्कार नगर्ने बताएपछि खाल्डो खनिएको भागमाथि शव राखिएको छ । जिल्लाबाट पोष्टमार्टमका लागि डाक्टरसहितको टोली आउन लागेको अस्थायी प्रहरी चौकी शान्तिघाटले गोरखापत्रलाई जानकारी दिएको छ । 

स्थानीय तहको निर्वाचनमा विजयी रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही र उपप्रमुख मनिराज बरालको विजयी भोजमा सहभागी दर्जीको शनिबार पाटेडीलको पानिगौंडामा शव भेटिएको थियो । 

मृतक दर्जी विजयी भोजमा दमाह बजाउन र नाचगान गर्न बायालपाटासम्म उपप्रमुखको घरमा समेत पुगेको बताइएको छ । उपप्रमुख मनिराज बरालको घर पाटेडीलमा राति ८ बजेसम्म नाचगान गरेका दर्जी सोही राति बेपत्ता हुनुभएको थियो । दर्जीको शव पानिगौंडाको कुलोमा जेठ ७ गते साँझ ६ बजे  भेटिएको थियो । 

दर्जीको शवलाई जेठ ८ गते बिहान पोष्टमार्टम गर्न रास्कोट सामुदायिक अस्पतालमा पठाइएको थियो । 

अस्पतालका स्वास्थ्यकर्मी शेरमान गुरूङले माथिल्लो तहको आदेशअनुसार शवलाई हेरफेर मात्र गरी पठाएको जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी सिद्धराज न्यौपानेका अनुसार प्रहरीले पोष्टमार्टम गर्न  अस्पताललाई पत्राचार गरिएको छ ।