सिराज खान
नेपालगन्ज, पुस १९ गते । माघी आउन अझै ११ दिन बाँकी रहेपनि पश्चिम नेपालका थारु बाहुल्य जिल्ला बाँके र बर्दियालगायतका अधिकांश थारु गाउँ बस्तीमा माघी पर्वको तयारीसँगै रमझम पनि सुरु भएको छ ।
दुबै जिल्लाका अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघी आउन केही दिन अझै बाँकी रहे पनि तयारी तीव्र रुपमा सुरु गरिएकाले रमझम बढेको बाँके मैटहवाका थारु अगुवा राजेन्द्र चौधरीले बताउनुभयो ।
माघीको तयारी स्वरुप माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका काम चलिरहेको र नाचगानको पनि रमझम सुरु भइसकेको चौधरीले बताउनुभयो ।
बाँके नौबस्ताका अर्का थारु अगुवा शङ्करसिंह थारुका अनुसार जिल्लाका अधिकांश थारू गाउँमा अहिले माघीकै लागि सुँगुर घरघरमा बाँधेका देखिन्छन् भने महिलाहरु दुना टपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्छन् ।
महिलाहरुले माघीमा जाँड र मासु खानका लागि दुना टपरी बनाउन लागेको थारुले बताउनुभयो । नौबस्तामा दुना टपरी बनाउँदै आउनुभएको पार्वती थारुले माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्न लागेको बताउनुभयो ।
यस्तै, बाँके बनकटुवाकी प्रिति चौधरी पनि माघीका लागि दुना टपरी बनाउनमै व्यस्त हुनुहुन्छ । परिवारका सदस्यहरुसँगै बसेर दुना टपरी बनाउनमै व्यस्त रहनुभएको उहाँले माघीमा खानेकुरा दुनाटपरीमै राखेर दिने चलन रहेकाले तयारी गरिरहेको बताउनुभयो ।
सोही गाउँकी निशा चौधरीले माघीका लागि अचार बनाउनमै व्यस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एक महीना अगाडिदेखि नै पात र दाउराको जोहो गरेकी थिएँ ।’’
मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गर्नुभएको निशाले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिकरी भने माघी आउन दुई चार दिन बाँकी रहँदा मात्र बनाउने बताउनुभयो । अधिकांश महिलाले चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसकेको जनाएका छन् । थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठुलो पर्वको रूपमा लिइन्छ ।