• ९ असार २०८१, आइतबार

नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ, केहीले गर्नुभयो पदभार ग्रहण

blog

प्रेमराज सिंखडा

कालीकोट, जेठ ९ गते । कालीकोटका नौ वटा पालिका प्रमुखहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले उहाँहरुलाई शपथ खुवाउनुभएको हो । 

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख कमल शाही, तिलागुफा नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी, पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकाया, पचालझरना गाउँपालिका अध्यक्ष देवजङ शाहीले शपथ लिनुभएको हो । 

यस्तै, शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र आचार्य र महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले पनि पद तथा गोपनीयताको शपथ लिनुभयो । जिल्लाका नौ स्थानीय तह मध्ये खाँडाचक्र नगरपालिका र शान्नीत्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार कमल शाही र मोहन केसीले जित्नुभएको थियो । रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले जित हात पारेको छ । 

तिलागुफा नगरपालिका र नरहरीनाथ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाका तीन स्थानीय मध्ये एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले उपप्रमुख र उपाध्यक्ष जितेका छन् । माओवादी केन्द्र पाँच प्रमुखसहित चार उपप्रमुख र उपाध्यक्ष, कांग्रेसले दुई प्रमुखसहित एक उपाध्यक्ष जितेको छ । दुई प्रमुखमा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

सबैले आजै पदभारग्रहण गर्ने

शपथसँगै तत्काल पदभार ग्रहण गर्नेमा खाँडाचक्र नगरपालिका प्रमुख कमल शाही, तिलागुफा नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्याय, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही हुनुहुन्छ । यस्तै नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसी, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले पनि पदभार ग्रहण गर्नुभएको छ । 

पद तथा गोपनीयताको शपथपछि नौ वटा स्थानीय तहका प्रमुख मुख्य निर्वाचन कार्यालय जिल्ला अदालतमा । तस्विरः प्रेमराज सिम्खडा ।