प्रेमराज सिम्खडा
कालीकोट, पुस १५ गते । जुम्लाको तातोपानीमा स्नान गर्न छिमेकी जिल्लासँगै देशभरका नागरिक पुग्ने गरेका छन् । छ वटा धारामा बाह्रै महिना तातोपानी आउने र त्यहाँ स्नान गरेमा बाथ रोकलगायत शारीरिक समस्या समाधान हुने जनविश्वासले यहाँ स्नान गर्नेको भिड लाग्ने गर्छ ।
सुन्दर रारातालमा पुग्ने पर्यटक प्रायः जुम्लाको तातोपानी पनि पुग्ने गरेका छन् । रारातालको अवलोकनपछि जुम्ला बजार हुँदै तातोपानीमा स्नान गर्ने गरिन्छ । राराताल हुँदै तातोपानी पुग्नुभएका बुटवलका विक्रम राईले तातोपानीमा स्थानीयहरुको भिड भएकाले आफुले स्नान गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले पूरै गाउँका महिलादेखि बालबालिकाहरुले धारा कब्जा गरेकाले बाहिरबाट यहाँ पुग्नेले तातोपानीमा स्नान गर्ने अवसर कमै मिल्ने गरेको सुनाउनुभयो ।
त्यहाँ केही कर्मचारी हुनुहुन्छ, उहाँहरुले भने पनि महिलाले धारा नछोड्ने भएकाले बाहिरबाट तातोपानीमा पुग्ने पर्यटकलाई समस्या हुँदै आएको उहाँको भनाइ छ ।
महिला र पुरुष भनेर धाराको भित्तामा लेखिएको छ तर स्थानीय महिला र बालबालिकाले सबैतिरका धारा भरिभराउ हुने हुँदा समस्या भएको हो । तातोपानीको धारा भएको स्थान तातोपानी गाउँपालिकाको वडा नं २ को जर्मिगाउँको पुच्छारतिर तिलानदीको भित्तामा छ । यहाँ प्रायः भदौ असोजमा मात्र बाहिरका पर्यटकलाई सहज हुने गरेको छ ।
यो सिजनमा गाउँका महिला खेतबारीमा हुने भएकाले धारा खाली हुने गर्छ । मङ्सिरदेखि फागुनसम्म भने यहाँ बाहिरबाट आउने पर्यटकले पालो पाउनै मुस्किल हुने गरेको छ । स्थानीयले सबै काम सकेको र घरमै बस्ने भएकाले यो समयमा स्थानीयको बढी सहभागिता धारामा हुने गरेको गाउँपालिकाको भनाइ छ ।
तातोपानी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष चन्द्रमान बुढाले सबै दिन होइन कुनै दिन गाउँका महिला सरसफाइका लागि धारामा जाने गरेको बताउनुभयो । उहाँले कुनै दिन काम सकेर सबै सरसफाइका लागि धारामा जाने र उसै दिन यहाँ आउने आन्तरिक पर्यटकलाई सास्ती हुन पुगेको होला, यसलाई व्यवस्थित गर्न कर्मचारीलाई आवश्यक सल्लाह दिने बताउनुभयो ।
प्रायः स्थानीयको भिड हुने हुँदा तातोपानीमा धित मरुन्जेल स्नान गर्न नपाएको बाहिरबाट आउने नागरिकको भनाइ छ ।