लीलाधर वली
घोराही, पुस १८ गते । दाङको देउखुरीमा दुई युवाले दुध बिक्री गरेर मासिक एक लाखभन्दा बढी बचत गर्दैआएका छन् । लामो समय वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएका राजपुर गाउँपालिका –२ मटेरिया निवासी शिशिर पोख्रेल र चूडामणि पोख्रेलले भैंसीपालन व्यवसाय गरेर मासिक एक लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
तीन वर्षअघि १५ लाख रुपियाँ लगानी गरेर इको नेपाल मल्टी एग्रो प्राइभेट लिमिटेड फर्म दर्ता गरेर पाँचवटा भैंसी किनेर व्यवसाय सुरु गरेको व्यवसायबाट अहिले दैनिक ९० देखि १०० लिटर बढी दुध बिक्री गरेर लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँका अनुसार अहिले फर्ममा साना ठुला गरेर २० भैंसी छन् । त्यसमध्ये १३ वटा भैंसीले दुध दिन्छन् ।
फर्ममा उत्पादन भएको दुध बिक्रीका लागि लमहीमा आफ्नै ‘इको डेरी’ समेत सञ्चालन गर्नुभएको पोख्रेलले राम्रो आम्दानी भइरहेको बताउनुहुन्छ । आफ्नै डेरी सञ्चालनमा आएपछि बिचौलियामार्फत दुधमा हुने घाटा रोकिएको भन्दै उहाँले भन्नुभयोे, ‘आफ्नो डेरी नहुँदा अरुलाई दुध बिक्री गर्नुपर्ने बाध्यता थियो । तर अहिले आफ्नो उत्पादन आफ्नै डेरीबाट बिक्री गर्ने गरेका छौं, यसले आम्दानीमा वृद्धि गरेको छ ।’
पहिले फर्मबाट अरुलाई दुध बिक्री गर्दा प्रतिलिटर ६० रुपियाँ मात्र पाइने गरे पनि अहिले डेरी सञ्चालन भएपछि सय रुपियाँ लिटरका दरले बिक्री गर्न सक्ने भएको बताउनुहुन्छ । भैंसीपालन गरे दुधदेखि गोबर मलसमेत बिक्री हुने गरेकाले घाटा नहुने बताउनुहुन्छ । भैंसीलाई दाना, घाँसखेतीलगायत नौ जना कर्मचारीलाई तलब दिंदा मासिक डेढ लाख खर्च हुने गरेको बताउनुुहुन्छ ।
आफ्नै दश कठ्ठा जग्गामा भैंसी फार्म सञ्चालन गरेको भन्दै उहाँले भैंसीका लागि आवश्यक पर्ने घाँसका लागि पाँच बिघा क्षेत्रफल जमिन भाडामा लिएको बताउनुभयो । दुधसँगै पाडापाडी उत्पादन गर्न सके बिक्रीका लागि समस्या नभएको भन्दै उहाँले फममा माउ भैंसीको सङ्ख्या ५० बढी पुर्याउने बताउनुहुन्छ ।
कोरियामा राम्रो कमाइ भए पनि आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर लागेको भन्दै उहाँले १५ लाखबाट सुरु गरेको व्यवसाय अहिले एक करोड बढीको भइसकेको बताउनुहुन्छ । आफुसँगै मलेसियाबाट फर्किएका दुई साथी मिलेर व्यवसाय गरेको र दुवैले कहिले फर्म र डेरीमा समय मिलाएर काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार डेरीमा तीन जना र फर्ममा चार जनाले रोजगारी पाउनुभएको छ ।