गोकर्ण पौडेल
तुलसीपुर, पुस १८ । तुलसीपुर उपमहानगरपालिका-३ मा रहेको भट्टे गाउँ तुलसीपुर बजारदेखि करिब ८ किलोमिटर पश्चिम दक्षिणमा छ । यो गाउँमा अहिले जैविक खेतीगाउँका रुपमा परिचित हुँदै आएको छ । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी अवलोकन, अध्ययन गर्न आउने जैविक गाउँकारुपमा भट्टे गाउँ परिचित हुँदै आएको छ ।
भट्टे कृषि सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वलीले अबको चार वर्षभित्र रासायनिक मलमुक्त गाउँ बनाउने अभियानमा हुनुहुन्छ । अध्यक्ष वलीले रासायनिक मल र विषादीको प्रयोगलाई पूर्णरुपमा हटाउनका लागि यस गाउँका किसानले जैविक विषादी प्रयोग सुरु गरेको बताउनुभयो । वलीका अनुसार निम, बोकाइनो, घिउकुमारी, तितेपाती, लसुन, प्याज, अदुवा, अरण्डी, खुर्सानीबाट जैविक विषादी बनाउने गरिएको छ ।
विषादी र जैविक मल उत्पादनका लागि भट्टेका ३१ जनाले ५० सेट भर्मिक कम्पोष्ट बेड, १० वटा पशुमूत्र संकलन ट्याङ्की र एक सय ५० केजी गड्यौलामार्फत् गड्यौले मल उत्पादन गर्दै आएका छन् । कृषि सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वलीले माटो पात्रो नै बनाएर मलमा जैविक विषादी र जैविक मल प्रयोग गर्न सुरु गरेको बताउनुभयो।
तुलसीपुर उपमहानगरपालिका-३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले भट्टे गाउँलाई जैविक गाउँकारुपमा विकास गर्नका लागि २०७४ सालबाटै प्रधानमन्त्री कृषि आधुनीकीकरण कार्यक्रममार्फत् सुरुवात गरिएको बताउनुभयो । उहाँले जैविक गाउँका बनाउनका लागि माटो पात्रोअनुसार जैविक विषादी छर्कनका लागि वडाबाट विद्युत स्प्रेको तत्कालै व्यवस्थापन गरिने बताउनुभयो । अध्यक्ष विश्वकर्माले गाउँभित्र सडक कालोपत्रे गरिएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिका-३ मा रहेको भट्टे गाउँमा उत्पादन भएको अर्गानिक कृषिजन्य वस्तुको बजारीकरणमा पालिकाबाट सहयोग गर्ने बताउनुभयो । उहाँले पछिल्लो समय अग्र्यानिक कृषिजन्य वस्तुमा आकर्षण बढिरहेकाले बजार क्षेत्रभित्र बिक्रीका लागि छुट्टै स्थानकोसमेत व्यवस्था गरिने बताउनुभयो । उहाँले पालिकाकोतर्फबाट यस वर्ष कृषि र पशुपक्षी क्षेत्रको बजेटको अघिल्ला वर्षभन्दा बढी राखेकाले जैविक मल उत्पादन, जैविक विषादी उत्पादनमा समेत सहयोग गरिने बताउनुभयो । उहाँले जैविक गाउँ भट्टे पुग्नका लागि बाँकी रहेको सडकसमेत संघ र प्रदेश सरकारसँग समन्वय, सहकार्य गरेर कालोपत्रे गरिने बताउनुभयो ।