• १४ वैशाख २०८१, शुक्रबार

सफल नमुना बाख्रापालक कृषक बन्नुभयो वडाध्यक्ष

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, जेठ ९ गते । नमुना कृषकको पहिचान बनाउनुभएका बेनी नगरपालिका–४ सिंगाका अणबहादुर खड्कालाई जनताले नमुना वडा निर्माण गर्नको लागि मौका दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा उहाँलाई जनताले विश्वास गरेर वडाध्यक्षको जिम्मेवारी सुम्पेका छन् । 

एककरोड ८० लाख रुपियाँभन्दा बढी लगानी गरेर खड्काले गाउँमा सामूहिक बाख्रापालन व्यवसाय गर्नुभएको थियो नै उहाँको कृषि क्रान्तिलाई मलजल गर्न नेकपा माओवादी केन्द्रबाट उहाँलाई वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।

सो उम्मेदवारीलाई जनताले पनि साथ दिएपछि उहाँले नेपाली काँग्रेसका सुमन बानियाँलाई  ६६५ मत अन्तरले पराजित गर्दै विजयी हुनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित खड्का दोस्रोपटक विजयी हुनुभयो । 

एकपटकको हारबाट म कत्ति पनि विचलित भएको थिइन, राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील थिएँ, उहाँले भन्नुभयो ‘यसपाली वडावासीले मलाई सेवा गर्ने अवसर दिनुभयो, वडावासीको शिर उच्च हुने काम गरेर देखाउँछु ।’ आफ्नो पेशा कृषि भएकाले किसानको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । 

युवालाई कृषि पेशातर्फ आकर्षित गर्ने खालका कार्यक्रमहरु वडाका हुनेछन्, उहाँले भन्नुभयो ‘हाम्रो वडा भनेको कृषि र पशुपालनमा राम्रो सम्भावना भएको वडा भएकाले कृषि क्षेत्रको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छु ।’ कृषिका साथै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा योजना बनाएर वडाको विकासमा सबैसँग सहकार्य गर्ने सोचाई उहाँले बनाउनुभएको छ । 

जनप्रतिनिधि भएपछि पनि बाख्रापालन व्यवसायलाई निरन्तरता दिई अझ राम्रो बनाएर वडावासीलाई उदाहरण प्रस्तुत गर्ने सोच उहाँको छ । उहाँको फर्ममा हाल १० जनाले रोजगारी पाएका छन् । 

सामूहिक बाख्रापालनको राम्रो उदाहरण देखाएर वडाका बेरोजगार युवालाई सामूहिक कृषि पेशातर्फ आकर्षित गर्ने उहाँ बताउनुहुन्छ ।